माघ ५, २०७८ बुधबार

काठमाडौँ, माघ ५ गते । काठमाडौँ विश्वविद्यालयले स्नातकोत्तर तहमा व्यवस्थापन सङ्कायअन्तर्गत मास्टर्स इन बिजनेस एन्ड इकोनोमिक्स विषय पढाउन लागिएको मङ्गलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । अर्थशास्त्रका सिद्धान्त र शुद्ध व्यावसायिक पक्षलाई जोड्न नयाँ विषयले मद्दत पु-याउने विश्वविद्यालयले अपेक्षा गरेको छ । यो नेपालमै नयाँ विषय भएको विश्वविद्यालयले जनाएको छ । 

पत्रकार सम्मेलनमा व्यवस्थापन सङ्कायका डिन प्राध्यापक देवीप्रसाद शर्माले भने, “नयाँ विषय पढेर उत्पादन भएका विद्यार्थीले बजारमा अहिले भइरहेको रचनात्मक जनशक्ति अभावको आवश्यकतालाई पूर्ति गर्न मद्दत पुर्‍याउने छन् । ” पाँच वर्षको तयारीपछि यो विषयको पठनपाठन सुरु गर्न लागिएको विश्वविद्यालयले जनाएको छ । यो विषय विश्वका प्रतिष्ठित विश्वविद्यालयमा मात्रै पढाइ भइरहेको दाबी गर्दै शर्माले भने, “अर्थशास्त्र र व्यापार फरक पाटोलाई जोड्न यो विषय सहयोगी बन्नेछ । ”