माघ ६, २०७८ बिहिबार

काठमाडौं, ६ माघ । गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएपछि भौतिक पूर्वाधारमन्त्री रेणु यादवको पद धरापमा परेको छ ।

विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले यादवको अभिव्यक्तिप्रति चासो लिएको बुझिएको छ ।

रेणु यादवलाई मन्त्रीबाट हटाउन जसपा अध्यक्ष उपेन्द्र यादवलाई दबाब बढिसकेको छ । विश्वस्त स्रोतका अनुसार जसपा नेता डा. बाबुराम भट्टराईले यसबारे चासो दिइसकेका छन् ।

सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरुले नै यादवको राजीनामा मागेका छन् । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिने यादवलाई पदमा रहने नैतिक अधिकार नभएको बताइसकेका छन् ।

आजै जनमत पार्टीका नेता सीके राउतलाई लक्षित गर्दै रेणु यादवले गौर नरसंहार दोहोर्‍याउने चेतावनी दिएकी छिन् । उनले २०६३ सालमा भएको गौर नरसंहारको उदाहरण दिँदै राउतका कार्यकर्ताको हालत नरसंहारमा मारिएका माओवादी कार्यकर्ताको जस्तै बनाइदिने चेतावनी दिएकी हुन् ।