माघ ७, २०७८ शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव वैशाखमै गर्ने प्रस्ताव अगाडि सारेसँगै देउवा र सत्ता गठबन्धनका शीर्ष नेताबीच मत विभाजित भएको छ । 

देउवाको प्रस्तावमाथि विमति राख्दै गठबन्धनको उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखमा संघीय निर्वाचन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

प्रचण्डको प्रस्तावमा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले समर्थन जनाएका छन् तर काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले वैशाखमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने विषयमा दह्रो अडान लिएको अवस्था छ ।

स्थानीय निर्वाचनबारे प्रधानमन्त्री र शीर्ष नेताबीच एक मत नहुँदा गठबन्धनमै खैलाबैला मच्चिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

उनीहरुबीचको छलफलपछि सत्तारुढ गठबन्धनको बैठक शुक्रबार अपराह्न ४ बजेका लागि बोलाइएको छ ।​

मंगलबार उच्चस्तरीय समन्वय समिति बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले पार्टीका शीर्ष नेतासहित कानुनमन्त्री दिलेन्द्र बडू र महान्यायाधिवक्ता खुमबहादुर खातीलाई राखेर छलफल गरेका थिए । उक्त बैठकबाट देउवा स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने निष्कर्षमा पुगेका थिए ।

देउवाको प्रस्तावमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र उपसभापति पूर्णबहादुर खड्काले आपत्ति जनाएका थिए । बैठकमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुनमन्त्री दिलेन्द्र बडूले भने देउवाको प्रस्तावमा समर्थन जनाएका थिए ।

स्थानीय तह निर्वाचन वैशाखमै गर भन्दै मिडिया र एमालेका तीन वटा संस्थाको दबाबमा देउवा प्रभावित भएको गठबन्धनका नेताहरूको बुझाइ छ ।

‘एमाले निकट तीन वटा संस्था गाउँपालिका महासंघ, नगरपालिका महासंघ, जिल्ला समन्वय समिति महासंघबाट वैशाखमै स्थानीय निर्वाचन गर भनेर वक्तव्य दिने काम भयो । एमालेको यो फण्डाबाट प्रधानमन्त्री प्रभावित हुनुभयो,’ माओवादी स्रोतले भन्यो ।