जेठ १, २०७९ आइतबार

काठमाडौँ । सरकारले आजबाट लागू हुने गरी हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन गरे पनि त्रिभुवन विश्वविद्यालयले तत्काल शनिबार मात्र बिदा दिने र आइतबार अध्ययन अध्यापन जारी राख्ने निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले सूचना निकालेर कोभिडका कारण शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेका, विश्वविद्यालयको पाठ्यक्रमको संरचना हप्तामा ६ कार्यदिनलाई ध्यानमा राखेर बनाइएकाले तत्काल हप्तामा दुई दिन सार्वजनिक बिदाको निर्णय कार्यान्वयन नगर्ने जनाएको हो ।