साउन २०, २०७९ शुक्रबार

एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं रानीबारी बस्ने गोरखा आरुघाट गाउँपालिका–७ घर भएका ३७ वर्षीय कर्णबहादुर गुरुङ, काठमाडौं धापासी बस्ने गोरखा सिरानचोक गाउँपालिका–५ घर भएका २८ वर्षीय लक्ष्मण गुरुङ, काठमाडौं मित्रनगर बस्ने सर्लाही लालबन्दी नगरपालिका–११ घर भएका २९ वर्षीय रोहित मगर रहेका छन् । 

त्यस्तै, काठमाडौं मित्रनगर बस्ने प्यूठान नगरपालिका–८ बागदुला घर भएका २८ वर्षीय विशाल मगर, काठमाडौं बानियाँटार बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–६ पालथोक घर भएका २७ वर्षीय विनोद केसी र काठमाडौं बालाजु बस्ने बर्दिया राजापुर नगरपालिका–१० घर भएका २८ वर्षीय शिव सुनारलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं कपुरधारास्थित सडकबाट वनस्थली बस्ने ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका–५ चिसापानी घर भएका एक व्यक्ति र काठमाडौं लाजिम्पाटस्थित खरेलटोलबाट एक जना चिनियाँ नागरिकसमेतलाई अपहरण गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् । 

उनीहरूले ति चिनियाँ नागरिकसँग अपहरणपछि एक करोड रुपैयाँ फिरौतीसमेत माग गरेका थिए । 

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्ज, मालीगाउँसमेतको सहयोगमा काठमाडौंमा विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद ८ लाख रुपैयाँ, विभिन्न कम्पनीको २६ थान मोबाइल र १ थान हतकडीसमेत बरामद गरेको छ । 

उनीहरू उपर अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।