चैत ३०, २०७७ सोमबार

कोरोना सङ्क्रमणको जोखिममा विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र सरोकारवालाहरुबीच भएको छलफल निष्कर्षविहीन भएको छ ।

आज बिहान शिक्षा मन्त्रालयमा छलफल भए पनि कुनै ठोस निष्कर्ष ननिस्किएको अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार छलफलमा विद्यालयलाई सुरक्षित तरिकाले चलाउने विषयमा छलफल भएको छ । छलफलमा शिक्षा मन्त्रालयसहित अभिभावक महासङ्घ, प्याब्सन, एनप्याब्सन लगायत सहभागी थिए । बैठकमा अभिभावकहरुले जोखिमयुक्त क्षेत्रका विद्यालय बन्द गर्नु पर्ने माग गरेका छन् ।

‘सङ्क्रमण बढ्दै गएका ठाउँमा १ देखि ५ सम्मका कक्षा बन्द गर्न सुझाव दिएका छौ’ भण्डारीले भन्नुभयो, ‘जोखिम बढेका क्षेत्रमा अनलाइनमार्फत कक्षा सञ्चालन गर्न भनेका छौँ, तर यस विषयमा आज कुनै ठोस निर्णय हुन सकेन ।’

निजी विद्यालय  सञ्चालकले भने अहिले नै विद्यालय बन्द गर्नु नपर्ने धारणा राखेका छन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय खोल्नु पर्ने उनीहरुको जोड छ । स्वास्थ्य मन्त्रालयले बालबालिकामा कोरोनाको जोखिम बढेको भन्दै विद्यालय बन्द गर्न सिफारिस गरेको छ। तर, निजी विद्यालयले भने यसको विरोध गर्दै आएका छन् ।

नेपालमा पछिल्लो समयमा बालबालिकामा कोरोनाको सङ्क्रमणको जोखिम बढ्दै गएको छ । गएको दुई हप्तामा १८ वर्षमुनिका दुई सयभन्दा धेरै जना सङ्क्रमित भएका छन् । बालबालिकालाई पाँच दिनसम्म लगातार १०४ डिग्री ज्वरो आए र झाडावान्ता भए तत्काल कोरोनाको परीक्षण गराउन डाक्टरले सुझाव दिएका छन् ।