बैशाख ३, २०७८ शुक्रबार

काठमाडौं . टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द गरिने भएको छ। दोस्रो चरणको कोरोना संक्रमणलाई ध्यानमा राख्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना संक्रमणदर फैलन नदिन वैशाख ९ गतेदेखि विद्यालय बन्द गर्न लागेको जानकारी दिए।

‘वैशाख ५ गतेदेखि ८ गतेसम्म सबै विद्यालयमा दोस्रो चरणको कोरोनासम्बन्धी विद्यार्थीमा जनचेतना फैलाउने, वैशाख १० देखि १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने र वैशाख १६ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ ,

यस्तै, टोखाले नगरपालिकाभित्र कोरोना भाइरस फैलन नदिन माइकिङ गर्ने, होर्डिङ वोर्ड राख्ने, आइसोलेसन कक्ष निर्माण गर्ने कार्यलाई प्राथमिकता दिनेछ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखामा सामुदायिक आठ, निजी ८४ र मन्टेश्वरी ३५ विद्यालय रहेको जानकारी दिए। टोखाले संक्रमण दरलाई हेरेर अन्य निर्णय गर्दै जाने जनाएको छ।