बैशाख ६, २०७८ सोमबार

सरकारले देशका प्रमुख शहरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो। कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएसँगै संक्रमण नियन्त्रणको प्रयासका लागि विद्यालय बन्द गर्ने विषयमा स्वास्थ्य र शिक्षा मन्त्रालयबिच विवाद रहेका बेला सरकारले प्रमुख शहरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण बालबालिका तथा किशोरकिशोरीमा बढ्दो गतिमा फैलिरहेको छ । सोही विषयलाई ध्यानमा राखेर सीसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

संक्रमण नियन्त्रणका लागि जोखिमयुक्त प्रमुख शहरका विद्यालय बन्द गरि पठनपाठन भर्च्युअल रुपमा गर्ने व्यवस्था मिलाउन सरकारले आदेश दिएको छ।

यस्तै मन्त्रीपरिषद बैठकले २५ जना भन्दा बढि भेला हुन नपाउनेसहितका सावधानीका उपायहरु समेटेर २० बुँदे अवधारणा जारी गर्ने निर्णय पनि गरेको छ। यस्तै, रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशालासहितका क्षेत्र पनि बन्द गर्ने निर्णय सरकारले गरेको छ।