मंसिर ८, २०७९ बिहिबार

काठमाडौँ । भक्तपुर-२ आफ्नो गढ हो भन्ने महेश बस्नेतले यसपटक पराजय भोगेका छन् । उनी निकटका एमालेका कार्यकर्ताका अनुसार काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) को निर्देशनमा सुरु भएको अवैध संरचना भत्काउने अभियानको विरोधमा महेश बस्नेतले बोल्दा नै हारको परिणाम आएको हो ।

नेपाली कांग्रेसका नेता दुर्लभ थापा भक्तपुर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले २४ हजार २३८ मत ल्याएर विजयी भएका हुन् । बस्नेतले २३ हजार २७९ मत ल्याएका थिए । ९५९ मतको अन्तरले महेश बस्नेतले पराजय भोगे ।

भक्तपुरका एमाले समर्थक मतदाताका अनुसार महेश बस्नेतमा आफू जसरी पनि जित्छु भन्ने घमण्ड थियो । अर्को, बालेन शाहको सडक विस्तारको क्रममा अवैध संरचना भत्काउने अभियानमा महेश बस्नेतले तीव्र विरोध जनाएका थिए ।

जनताको व्यापक समर्थनमा बालेनले चालेको अभियानमा बस्नेतले विभिन्न मिडियामार्फत विरोध गरेका थिए । अहिले भक्तपुरका एमाले समर्थकहरूले बालेनले चालेको अभियानमा विरोध जनाएका कारण नै महेश बस्नेतको हार भएको बताएका छन् ।

बालेनले कानुनविपरीतका संरचना भत्काउँदा व्यक्तिगत रूपमा व्यक्तिलाई घाटा वा नाफाभन्दा पनि सामूहिक रूपमा यसको प्रभाव सकारात्मक परेको थियो । बालेनको अभियानमा जनताले व्यापक समर्थन गरेका थिए, तर एमाले नेता बस्नेतले यसको विरोध गर्दै बालेनविरुद्धमा अभिव्यक्ति दिएका थिए । एमालेका नेताहरूले यही अभिव्यक्तिलाई बस्नेतको हारको परिणाम मानेका छन् ।