मंसिर १७, २०७९ शनिबार

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तिम मतपरिणाम केही दिनभित्र सार्वजनिक हुँदै छ । तर, प्रत्यक्ष र समानुपातिक मतपरिणाम पूर्णरूपमा सार्वजनिक नहुँदै ‘नयाँ सरकार निर्माण’ र ‘भावी प्रधानमन्त्री’का लागि आन्तरिक गृहकार्यले तीव्रता पाएको छ ।


सत्तारूढ पाँच दलीय गठबन्धनमा नयाँ दल एवं स्वतन्त्र सांसदसमेत मिलाएर अघि बढ्न शीर्षनेताको दौडधुप बढेको हो । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धन सरकार बन्ने देखिएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुखलगायत प्रमुख पदमा भागबण्डा गरेर गठबन्धन सरकार बनाउने विषयमा नेताबीच छलफल भइरहेको छ । प्रमुख पदका साथै प्रदेश प्रमुख, राजदूत नियुक्ति, संवैधानिक आयोगमा नियुक्तिलगायत महत्वपूर्ण पद बाँडफाँट गरेर अघि बढ्नेबारे छलफल भइरहे पनि ‘प्रधानमन्त्री को हुने भन्ने विषयमा सहमति जुट्न सकिरहेको छैन ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा शेखर कोइरालासहित महामन्त्री गगनकुमार थापालगायत नेता ‘संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्न योजनाबद्ध रूपमा अघि बढे’पछि देउवा अप्ठयारोमा परेका हुन् । यद्यपि, देउवा पुनः संसदीय दलको नेता हुँदै प्रधानमन्त्री हुनेमा निधि ढुक्क रहेको दाबी गरिएको छ ।

कांग्रेसभित्र ‘प्रधानमन्त्री को हुने भन्ने रस्साकस्सी भइरहेका बेला नेकपा माओवादी केन्द्र अध्यक्ष ‘प्रचण्ड’ले ‘प्रधानमन्त्री आफू हुने र कांग्रेसले राष्ट्रपतिसहित अन्य महत्वपूर्ण पद लिएर अघि बढ्नुपर्ने भन्दै दबाब दिएका छन् ।

गठबन्धनभित्रबाट ‘कुन पार्टीका को प्रधानमन्त्री हुने भन्नेबारे टुंगो नलागिरहेको बेला एमालेसमेत प्रधानमन्त्रीका लागि आन्तरिक तयारीमा जुटेको छ । एमाले नेतृत्वमा रहेको जसपा, राप्रपासहित माओवादी, जनमत तथा स्वतन्त्र सांसद सरकार बनाउने विषयमा आन्तरिक जोडघटाउमा लागेका छन् ।

एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार निर्माणका लागि गठबन्धन अगाडि कठिन भए पनि सत्तारूढ गठबन्धन विभाजन गरेर सरकार निर्माण गर्ने रणनीतिमा एमाले छ ।