बैशाख २३, २०७८ बिहिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने नाममा असंवैधानिक बाटोतिर जान खोजेको दावी गरेका छन् ।

बिहीबार संसद भवन नयाँवानेश्वर परिसरमा पत्रकारसँग कुरा गर्दै नेता पुनले प्रधानमन्त्रीले विश्वासको मत नपाउने पनि जिकिर गरे ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसदको विशेष अधिवेशन बोलाइएको छ । ‘प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनुहुन्न र अरु कुनै बाटोतिर, असंवैधानिक बाटोतिर जान खोज्नुभएको छ’ नेता पुनले भने ।

त्यो बाटो के हो ? भन्ने प्रश्नमा पुनले फेरि संसद विघटन गर्न प्रधानमन्त्रीले प्रयास गरेको बताए । ‘…विश्वासको मत नपाएको दिन नै संसद विघटन गर्ने र अरु ठाउँमा राजनीतिलाई विषयान्तर गर्ने, फेरि अराजनीतिक, असंवैधानिक, अलोकतान्त्रिक ढङ्गले काम गर्न खोज्नुभएको छ भन्ने एकदम स्पष्ट छ’ उनले भने ।