चैत १४, २०७९ मंगलबार

बेलायतका राजा चाल्र्स तृतीय जर्मनीको तीनदिने भ्रमणमा बुधबार बर्लिनर्फ प्रस्थान गर्दै हुनुहुन्छ । देशको राजसिंहासन सम्हालेपछि हुनलागेको यो उहाँको पहिलो विदेश भ्रमण हो । भ्रमणमा उहाँका साथ रानी क्यामिला पनि रहनुहुनेछ । 

    यसअघि बेलायतका नरेशले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो तर फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकको राष्ट्रव्यापी विरोधप्रदर्शनका कारण उहाँको भ्रमण स्थगित भएको थियो । 

    नजिकका छिमेकी मुलुकको भ्रमण गर्ने राजाको निर्णयअनुसार चाल्र्स जर्मनीतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले बेलायतका राजाको भ्रमणलाई दुई देश र जनताबीचको घनिष्ठ एवम् हार्दिक मैत्रीको प्रतीक भन्नुभएको छ । 

    राजा चाल्र्सले बिहीबार जर्मनीको सङ्घीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै उहाँले हालै युक्रेनबाट आएका शरणार्थीलाई पनि भेट्ने कार्यक्रम रहेको जनाइएको छ । उत्तरी बन्दरगाह शहर ह्याम्बर्गमा नवीकरणीय ऊर्जा परियोजनाको अवलोकन गरेर राजदम्पति शुक्रबार स्वदेश फर्कनुहुनेछ ।