चैत १६, २०७९ बिहिबार

काठमाडौँ) मनाङ मर्स्याङ्दी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा बुधबार भएको खेलमा क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–० गोल अन्तरले हराउँदै मनाङ उपाधिनजिक पुगेको हो ।

कागजात पूरा नभएका कारण क्यामरुनका दुई जना खेलाडीले खेल्न नपाएपछि ९ जनाको टोली लिएर एभिनर क्लब मनाङविरुद्ध मैदान उत्रिएको थियो ।

मनाङलाई जित दिलाउन सायीजमलले ह्याट्रिक गरे । मनाङका लागिखेलको १२ औं मिनेटमा जीवन गुरुङले गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको मनाङले सात खेलाडीमा सिमित हुन पुगेको एभिनरमाथि दोस्रो हाफमा फाइदा उठायो ।

पहिलो हाफमा फउल गरेका जोर्डन जुनियरले पहेलो कार्ड पाए । उनले त्यसको विरोधमा विपक्षी टोली र रेफ्रीसँग गरेको व्यवहारका कारण रातो कार्ड पाएर बाहिरिनु पर्यो । त्यसको केहि मिनेट पछि गोल किपर विल्सनले पनि रातो कार्ड पाएपछि एभिनरको टीम सात जनामा सिमित रहन पुगेको थियो ।

खेलको ५४ औं मिनेटमा प्रसन्न श्रेष्ठले गोल गरे । यस्तै ५९ औं, ६७ औं र ७७ औं मिनेटमा सायीजमलले गोल गर्दै ह्याट्रिक पुरा गरे । खेलको ८१ औं मिनेटमा अनिल गुरुङले मनाङका लागि छैठौं गोल गरे ।