जेठ १८, २०८० बिहिबार

बारा, १८ जेठ: बढदो गर्मीका कारण विद्यार्थीलाई समस्या सिर्जना भएको भन्दै कलैया उपमहानगरपालिकाले सात दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख प्रल्हाद वर्णवालले एक विज्ञप्तिमार्फत बिदाको जानकारी गराउनुभएको हो ।

 गर्मीका कारण पठनपाठनमा समस्या सिर्जना हुनुका साथै खासगरी बालबालिकामा गर्मीका कारण स्वास्थ्यमा निकै नै प्रतिकूल असर पर्ने भएको हुँदा सहजताका लागि बिदा घोषणा गरिएको प्रमुख साहले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “निजी तथा सरकारी विद्यालयमा अत्यधिक गर्मीका कारण विद्यार्थीको चाप पनि घटेको हुँदा बिदा दिनुपरेको हो ।” 

    तराई–मधेसका जिल्लामा ४० डिग्रीभन्दा बढी तापक्रम बढेको हुँदा विद्यार्थीलाई विद्यालयबाट घर जान र घरबाट विद्यालय जान पनि समस्या सिर्जना भएको थियो । कतिपय विद्यार्थी गर्मीका कारण कक्षाकोठामा बेहोस हुन लागेकाले बिदा स्वीकृत गरिएको  शिक्षा शाखा प्रमुख वर्णवालले बताउनुभयो । 
     
    तातो हावा (लु) चलिरहेको हँुदा गर्मीका कारण बाराको जनजीवन कष्टकर बनेको छ । सेवा प्रदायक सरकारी कार्यालयमा सेवाग्राहीको चाप घटेको छ । यस्तो समयमा घरबाट निस्कन निकै नै समस्या हुने गरेको बारागढी गाउँपालिका–४ का श्रीचन्द्र साहले बताउनुभयो । 

अहिले सडकपेटी, हाटबजारलगायत स्थान प्रायः सुनसान देखिएका छन् । विद्यालय यही जेठ १९ देखि बन्द भई जेठ २५ गते खुल्ने शिक्षा शाखा प्रमुख वर्णवालले जानकारी दिनुभयो ।