गण्डकी, १३ चैत :
कतै मन्दिर चिसापानी, कतै भैरव कोट ।
तालैमुनि सिमल काँडे, कमल फूलको बोट ।।
पर्यटकीय नगर कास्कीको पोखरा महानगरपालिका–३२ रुपातालको किनारमा लाग्दै आएको सिष्ठेनी मेलासँग यो गीतले प्रत्यक्ष सम्बन्ध राख्ने स्थानीयवासी सीतादेवी अधिकारी बताउनुुहन्छ । चैते दसँैंका समयमा लाग्ने सिष्ठेनीको मेला झण्डै ६ सय वर्ष पुरानो भएको बताइन्छ । यसको महिमा र गरिमा परापूर्व कालदेखि नै रही आएको उहाँले बताउनुुभयो । यहाँ नजिकैको चिसापानी, शिरमा रहेको कोट भैरव मन्दिर, तालको किनारामा रहेका सिमल काँडेदेखि कमलका फूलसम्मले यहाँको मौलिकतालाई झल्काउँछ ।
तालैतालको सहर पोखराको तेस्रो ठूलो ताल रुपाको किनारामा शताब्दीऔंँदेखि लाग्दै आएको मेलाको मौलिकता जोगाउने लक्ष्यका साथ स्थानीय रुपा युवा क्लबले अन्य सामाजिक सङ्घ संस्थाको सहकार्यमा यसलाई निरन्तरता दिँदै आएको छ । प्रत्येक वर्ष चैते दसँैमा लाग्ने यो मेला आगामी वर्ष वैशाख २ देखि ५ गतेसम्म सञ्चालन गर्ने क्लबका अध्यक्ष नमराज खड्काले जानकारी दिनुुभयो । यसका लागि १६ उपसमिति गठन गरिएको छ ।
“सिष्ठेनी मेलाको मौलिकता जोगाउने प्रयास थालेका छौँ”, उहाँले भन्नुभयो, “त्यसैको निरन्तरतास्वरुप यसवर्ष छैँटौँ संस्करणको मेला गर्ने तयारी गरिएको हो ।
यहाँको मेलाले छेलो हान्ने पर्वका रुपमा पनि ख्याती कमाएको छ । प्राचीनकालदेखि नै टाढाटाढाबाट छेलो हान्नका लागि युवा मेलामा आउने गरेको बुढापाका बताउँछन् । मेलामा छेलो हानेर जित्नेको वर्षभर नै छुट्टै महिमा र गरिमा हुने गरेको उनीहरूको अनुभव छ । छेलो खेलको मौलिकतासँगै मेलामा साहित्य, कला, संस्कृति, धार्मिक जागरण एवं रुपाताल आसपासका क्षेत्रको विकासका लागि पहल गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्धर्न गर्ने लगायतका उद्देश्य राखिएको क्लबका संस्थापक अध्यक्ष तथा मेलाका निर्देशक धीरजकुमार श्रेष्ठले बताउनुभयो ।
मेलासँगै यस क्षेत्रको चिनारी, सामाजिक, आर्थिक एवं सांस्कृतिक विकासका साथै पर्यटन प्रवद्र्धन हुने विश्वास लिइएको छ । मेलाका अवसरमा भलिबल, महिला÷पुरुष रस्साकसी, छेलो हान्ने प्रतियोगितालगायत आयोजना गरिने उहाँले बताउनुभयो । भलिबलमा प्रथम हुनेले रु ६५ हजार पाँच सय ६५ तथा दोस्रो हुनेले रु ३५ हजार पाँच सय ३५ पुरस्कार प्राप्त गर्ने छन् ।