काठमाडौँ, २४ कात्तिक : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालले सहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल भएको बताउनुभएको छ ।
इजिप्टको कायरोमा सम्पन्न ‘वल्र्ड अर्बान फोरम’मा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भ्रमण उपलब्धिमूलक भएको दाबी समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, “सहरी विकासका क्षेत्रमा भइरहेको काममा नेपालसँग सहकार्य गरिररहेका अन्तराष्ट्रिय समुदायसँग सम्बन्ध प्रगाढ रहेको छ । आगामी दिनमा सहरीकरणका काम प्रविधियुक्त र थप प्रभावकारी रुपमा अघि बढ्ने छ । ” उपप्रधानमन्त्री सिंहले कायरोमा सम्पन्न फोरममा नेपालले सहरीकरणका क्षेत्रमा हासिल गरेको प्रगति र भोगिरहेको समस्याबारे विश्वकै ध्यानाकर्षण गराउन सफल भएको बताउनुभयो ।
“जलवायु परिवर्तनले गर्दा सहरमा अतिवृष्टि हुने, बाढी आउने, हिमालमा हिमपहिरो आउँदा विपद्का घटना हुने गरेको छ । तर, नेपाल यस्तो देश हो विश्वमा, जसले प्रदूषण कम गर्छ तर जलवायु परिवर्तनको असर भने धेरै खेप्नु परिरहेको छ । यसले गर्दा ग्रिन फाइनान्सिङको कुरामा संयुक्त राष्ट्रसङ्घसँग कुरा गरेर नेपाललाई सहयोग पु¥याउनुपर्नेमा जोड दिनुपर्छ भन्ने कुरालाई मैले उठाएको छु”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “आउँदा दिनमा हामीले गरेको प्रयासको लाभ देखिन्छ ।” तथ्य र तथ्याङ्कमा आधारित योजनामा युएनको निरन्तर सहयोगको प्रतिबद्धता रहेको जनाउँदै उहाँले दिगो सहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्रको समर्थन नेपालका लागि सकारात्मक रहेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । वल्र्ड अर्बान फोरममा नेपालले आफ्ना विषय विश्व मञ्चमा जोडदार रुपमा उठाएको र भ्रमण फलदायी भएको उहाँले बताउनुभयो ।
मन्त्रालय तहको छलफलमा ७७ राष्ट्रका सहरी विकाससँग सम्बन्धित मन्त्रीहरु सहभागी थिए ।