असोज ११, २०७८ सोमबार

बाँके । सोमबार दिउँसो नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठक बसिरहेको थियो । बैठकमा कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको बजेटबारे छलफल भइरहेको थियो । यतिकैमा एकाएक वडाध्यक्ष र कार्यपालिका सदस्यका बीचमा बैठकमै विवाद भयो । कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको बजेट पारदर्शी रूपमा खर्च नभएको वडाध्यक्षहरूको गुनासोपछि कार्यपालिका सदस्य र वडाअध्यक्षबीच कुटाकुट भएको हो ।

सो क्रममा वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंहको आँखामा चोट लागेको बताइएको छ । उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले बोर्डमा खर्चको बिषयलाई लिएर विवाद भएको बताइन् । उनले यसअघिको बोर्ड बैठकले कार्यपालिका सदस्यले दलित, गरिब, विपन्न समुदायलाई १२ लाख रुपैयाँ खर्च गर्ने अख्तियारी दिएको रकम पारदर्शी रूपमा खर्च नभएको वडा अध्यक्षहरूले बताएपछि विवाद भएको बताइन् ।

बैठकमा वडा नं. ५ का अध्यक्ष कैफुलबराह जोलाहा र कार्यपालिका सदस्य देउमल सुनारबीच हात हालाहाल भएको थियो । उनीहरूलाई छुट्याउने क्रममा वडा नं. ६ का अध्यक्ष सिंहको आँखामा चोट लागेको बताइएको छ । विवाद गर्ने वडा अध्यक्ष राप्रपाका र कार्यपालिका सदस्य माओवादी केन्द्रका हुन् । विवाद साम्य बन्दै गएपछि फेरि बैठक बसेको उपप्रमुख थापाले बताइन् ।