कात्तिक १०, २०७८ बुधबार

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार (आज) दिउँसो १ बजेसम्म बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएकी छिन् । मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा परेकी शाक्यले दुई महिनापछि प्रदेश सभाबाट विश्वासको मत लिँदै छिन् ।

हाल १०९ प्रदेशसभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना सदस्य आवश्यक हुन्छ । प्रदेश सभाका सदस्य रहेको एमालेका १३ जना प्रदेश सभाका सदस्यले एकीकृत समाजवादी रोजेसँगै एमाले सभामुखसहित ४३ सदस्यमा सीमित बन्दै प्रदेश सभामा बहुमत गुमाएको छ ।

गठबन्धनबाट आगामी मुख्यमन्त्रीमा प्रस्तावित एकीकृत समाजवादी का संसदीय दलका नेता राजेन्द्र पाण्डेको पक्षमा ५९ जना सांसद छन् । माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना प्रदेश सभाका सदस्यले मुख्यमन्त्री शाक्यको विपक्षमा मतदान गर्ने भएका छन् ।

मुख्यमन्त्री शाक्यलाई प्रदेश सभामा रहेका साना दलहरूले समर्थन गरे पनि विश्वास मतको प्रस्तावको पक्षमा बहुमत पुग्ने देखिँदैन । विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई÷दुई जना प्रदेश सभाका सदस्य रहेका छन् ।