बैशाख २१, २०८१ शुक्रबार

पर्वत, २१ वैशाखः पशुपालनबाट किसानसँगै गाउँपालिकालाई पनि आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको महाशिला गाउँपालिकाले पशुपालक किसानलाई अनुदान दिने भएको छ ।

महाशिला गाउँपालिका र हेफर इन्टरनेशनलको साझेदारीमा किसानसँग महाशिला कृषि कार्यक्रमअन्तर्गत पालिकाका छवटै वडामा व्यावसायिक रूपमा पशुपालन गरेका  किसानलाई  रु ३१ लाख ५० हजार अनुदान वितरण गरिने भएको छ ।

महाशिला गाउँपलिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालका अनुसार पालिकाले व्यावसायिक पाख्रापालन गर्ने, गाईगोरु, भैँसीपालन गर्ने किसानलाई उक्त अनुदान दिनेछ । चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटबाट एक सयजना बाख्रापालन गर्ने किसानलाई खोर सुधारका लागि रु २५ लाख प्रदान गरिने छ । 

अनुदान लिने किसानले कम्तीमा पाँचवटा माउबाख्रा पालेको हुनुपर्ने प्रावधान छ ।  अनुदान पालिकाका छवटै वडाका पशुपालन गर्ने निजी फार्म, कृषक समूह, सहकारी वा साझेदारी फार्मलाई पनि समेटिएको छ ।

त्यसैगरी भकारो सुधार कार्यक्रमका लागि रु तीन लाख ५० हजार अनुदान वितरण गरिने भएको छ । गाउँपालिकाभित्रका ५० जना किसानलाई भकारो सुधारका लागि अनुदान दिने उहाँले बताउनुभयो ।कम्तीमा एउटा गाई, एक हल गोरु र एउटा भैँसी पालेका किसानलाइ रु  सात हजारका दरले अनुदान दिइने छ । पालिकाको एउटा वडामा १५ रोपनी क्षेत्रफलमा घाँसको स्रोत केन्द्र बनाउनका  रु एक लाख ५० हजार अनुदान दिइने छ । स्रोत केन्द्रबाट पालिकाका छवटै वडामा घाँसको बीउ र बिरुवा विस्तार गरिने छ । 

पालिकाभित्रका विभिन्न २८ वटा कृषक समूहलाई घाँसको बीउ र बिरुवा वितरण गर्न पालिकाले अनुदान दिने भएको छ । चालु आर्थिक वर्षमा रु एक लाख ५० हजार बीउ तथा बिरुवा वितरणका लागि अनुदान दिइने अध्यक्ष भुसालले जानकारी दिनुभयो ।  अनुदान लिनका लागि कृषक, सहकारी वा साझेदारी फार्मले पन्ध्र दिनभित्र संस्था वा फार्म दर्ताको प्रमाणपत्र, नागरिकता, निवेदन, जग्गाको जग्गाधनी पुर्जाजस्ता कागजात पालिकाको पशु सेवा शाखामा पेस गर्न अनुरोध गरिएको छ । पालिकाले केही वर्षअघिदेखि मासु र दूध उत्पादनमा पनि अनुदान दिँदै आएको छ ।