बैशाख २३, २०८१ आइतबार

सिबी अधिकारी

लुक्ला (सोलुखुम्बु), २३ वैशाख ः जिउ काम्ने गरी बहने चिसो हावा । कठ्याङ्ग्रिएका कलिला हातखुट्टा कहिलेकाहीँ त चलाउन पनि गाह्रो हुन्छ । कक्षाकोठामा चिसोसँग जुध्दै पढ्नु यहाँस्थित थाङ्का पेन्टिङ विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीको बाध्यता हो । 
    
    जाडो याममा बाक्लो हिउँ पर्दा कक्षाकोठसम्म पुग्न पनि मुस्किल हुन्छ । आर्थिक अवस्था कमजोर हुँदा विद्यार्थीले भने जस्तो न्याया कपडा पाउँदैनन् । पाए पनि वर्ष दिन टिक्ने खालका हुँदैनन् । उनीहरुको समस्या बुझ्नुभएका गत साता वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा न्याना कपडा बोकेर काठमाडौँबाट लुक्ला पुग्नुभयो । केमजुङ गुम्बाभित्र सञ्चालित विद्यालयका विद्यार्थीलाई ज्याकेट वितरण गर्नुभयो ।
    
    ज्याकेट पाएपछि लोखिमका जिङ्मे डेन्डुको मुहारमा कान्ति छायो । “ज्याकेट लगाउन पाउँदा धेरै खुसी लागेको छ”, रातो रङको ज्याकेट पहिरिएपछि डेन्डुले भन्नुभयो, “चिसाबाट बच्न अब सजिलो भएको छ ।”
    
    सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत सोलुखुम्बु काकुका रिमछेन दावालाई पनि ज्याकेट लगाउन पाउँदा औधि खुसी लागेको छ । परिवारको एक्लो छोरा उहाँ लामा गुरु बन्ने उद्देश्यले अध्ययनका लागि लुक्ला आउनुभएको हो । लुक्लामा चाँडोयाममा हिउँ पर्ने र अत्यधिक चिसो हुनेहुँदा विद्यार्थी निकै समस्यामा पर्ने गरेको उहाँले सुनाउनुभयो । न्याना कपडाले विद्यार्थीको पढाइ र बसाइलाई सहज बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
     
    लामा पोसाक सुहाउँदो ज्याकेट लगाएपछि कक्षा ३ मा अध्ययनरत डेन्डुजस्ता विभिन्न तहमा अध्ययनरत २१ भिक्षु विद्यार्थीको अनुहारमा छचल्किएको खुसीले विद्यालयको माहोललाई रौनक बनाएको थियो । शेर्पासँगै सोलुखुम्बुकै पेमा छोलिङ गुम्बा बौद्ध विश्वविद्यालयका ३५ विद्यार्थी, चार शिक्षक, गुम्बा व्यवस्थापनमा खटिने अन्य गरी ६० थान ज्याकेट प्रदान गरिएको छ ।

     सामाजिक अभियन्ता शेर्पा र ‘क्लाइमेट अलाइन्स अफ हिमालयन कम्युनिटिज’ का महासचिवसमेत रहनुभएकी छाती रोग विशेषज्ञ डा लक्ष्मी आवाले संयुक्तरुपमा समाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत न्यानो ज्याकेट वितरण, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, औषधि, खाद्यान्यलगायत सहयोग गर्दै आउनुभएको छ ।  
     
    सोलुको सल्लेरी, नेले, काकु, लोखिमलगायत स्थानबाट उक्त विद्यालयमा अध्ययन गर्न भिक्षुहरु आएका छन् । विद्यालयका शिक्षक साङ्गेलाक्पा दोर्जे शेर्पाका अनुसार कक्षा ११ सम्म पढाइ हुने विद्यालयमा जिल्लाका विभिन्न स्थानबाट विद्यार्थी आउने गरेको बताउनुहुन्छ । भिक्षु विद्यार्थी उच्च शिक्षाका लागि काठमाडौँको फर्पिङ र भारतका विभिन्न स्थानमा जाने गरेका छन् ।

    खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा रहेको पेमा छोलिङ गुम्बा यो क्षेत्रकै ठूलो र पुरानो गुम्बा हो । सोलु ठाडोकोसीका शेर्पाले भविष्यमा शिक्षक बनेर यसरी नै गरिब, बेसाहारा भिक्षु विद्यार्थीहरुलाई पढाउने योजना रहेको सुनाउनुभयो । घरको कमजोर अवस्थाकै कारण आफू आमा, बुबा र भाई छोडेर गुम्बामा बस्दै आएको उहाँले बताउनुभयो ।
     
    वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले विशेष गरी गुम्बामा अभिभावकविहीन बालबालिका रहेकाले उनीहरुलाई न्यानो कपडा वितरण र स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बेसाहरा बच्चा जो स्कुल, कलेजमा पैसा तिरेर अध्ययन गर्न सक्दैनन् उनीहरुको शिक्षा र लालनपालनको जिम्मा गुम्बाले लिँदै आएका छन् । गुम्बाहरु उचाइमा हुने र धेरै हावा चल्ने भएकाले पढाइलाई सहज होस् भनेर न्यानो कपडा वितरण गरिएको हो ।”
     
    हिमाली क्षेत्रका गुम्बा अति दुर्गम र उच्च स्थानमा अवस्थित भएकाले धेरै चिसो हुने, हावा चल्नुका साथै धुवाँ, धुलो र चिसोका कारण समस्या हुने गरेको छ । कक्षाकोठामा ‘हिटिङ सिस्टम’ नहुँदा विद्यार्थी चिसोमै पढ्न बाध्य भएकाले ज्याकेट वितरण गरिएको शेर्पाले बताउनुभयो ।
    
    अभियानता डा आवाले सामाजिक सेवाअन्तर्गत स्वास्थ्य, शिक्षा र वातावरण संरक्षणलाई प्राथमिकता दिएर सामाजिक अभियानमा लागेको बताउनुभयो । “विशेष गरेर हिमालय क्षेत्रका जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौँ । वातावरण संरक्षणमा सचेतना अभिवृद्धिको कामलाई पनि सँगै अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो । 
    
    गोरखा र जाजरकोट भूकम्पपीडितलाई पनि विभिन्न शीर्षकमा नगद, लत्ताकपडा, खाद्यान्यलगायतका राहत सामग्री वितरण गर्दै आइएको डा आवाले जानकारी दिनुभयो । उहाँले आफ्नो आम्दानीको केही अंश समाजसेवामा लगाएको बताउनुभयो । 
    
    थाङ्का पेन्टिङ विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष दावाफुटी शेर्पाले विद्यार्थीलाई ज्याकेट वितरण गरेर पवित्र काम गर्नुभएको भन्दै उहाँजस्तै मनकारी मनहरुले समस्यामा परेका विद्यार्थीलाई यसरी नै सहयोग गर्न आग्रह गर्नुभयो । 
    
    “कोरोना महामारीको समयमा पनि उहाँले विद्यालयलाई राहत दिनुभएको थियो ।  अहिले फेरि न्यानो कपडा र चामल दिनुभएको छ । उहाँको सहयोगलाई हामी धन्यवाद दिन्छौँ”, उपाध्यक्ष शेर्पाले भन्नुभयो ।
     
    विद्यालयमा विशेषगरी थाङका सिकाइन्छ । बौद्ध संस्कृतिलाई कलामार्फत जीवित बनाउने प्रयास गरिन्छ । गुम्बाभित्र देवताका सबै चित्र यही अध्ययन गरेका विद्यार्थीले बनाएका हुन् । थाङ्का उत्पादन र बिक्री वितरण हुन्छ । युवा भिक्षुहरुले रोजगारी पनि पाएका छन् ।
    
    थाङका पेन्टिङ विद्यालयका शिक्षक साङ्गेलाक्पाले न्यानो कपडाले विद्यार्थीलाई निकै ठूलो राहत मिलेको बताउनुभयो । “विद्यालय उचाइमा अवस्थित छ । जाडो याममा तापक्रम माइनस पाँच डिग्रीसम्म पुग्छ । चिसोका कारण विद्यार्थीमा रुघाखोकी, छातीरोगलगायत समस्या देखिने गरेको छ”, उहाँले भन्नुभयो । इलाम घरभएका उहाँ फर्पिङस्थित गुम्बाबाट अध्ययन गरेर यो विद्यालयमा अध्यापन गर्न आउनुभएको हो ।

     व्यवसायी शेर्पाले पेमा छोलिङ गुम्बाको आवास भवनका लागि जस्तापाता र सोही क्षेत्रको माथिल्लो गुम्बालाई भान्साका लागि आवश्यकपर्ने भाँडाकुँडा सहयोग गर्ने बताउनुभयो ।

     पेमा छोलिङ गुम्बाका प्रमुख नवाङ ठिले शेर्पाका अनुसार उक्त गुम्बामा ३५ जना अध्ययनरत छन् । विकट गाउँबाट आएका उनीहरुलाई खाना, लत्ताकपडा दाताको भरमै चलेको छ । गुम्बामा खाद्यान्य र लगाउने कपडाको अभाव छ । चार जना शिक्षकलाई तलबको जोहो पनि चुनौती बनिरहेको छ । उहाँले गुम्बामा शेर्पा समाजलगायत संस्थाले पनि विभिन्न सहयोग गर्दै आएको बताउनुभयो । 

    पेमा छोलिङ गुम्बा व्यस्थापन समितिका अध्यक्ष लुर्बुठिले शेर्पाका भनाइमा अहिलेको मुख्य चुनौती भनेको भिक्षुहरुको पठनपाठन र पालनपोषण हो । गुम्बाको कुनै आयस्रोत छैन । तरकारी चियापान, खाद्यान्यलगायत सामग्री सहयोगबाटै जुट्छ । यो क्षेत्रका १५ मध्ये यो सबैभन्दा ठूलो गुम्बा हो । पुरानो गुफा तेङबोचे गुम्बा, थामे गुफा, नाम्चे र खुम्जुङको शाखा गुफामा पनि भिक्षु विद्यार्थीको सङ्ख्या बाक्लो छ ।
     
    सामाजिक कार्यक्रमा सक्रिय आङछिरिङ र लक्ष्मीले सोलुका विभिन्न गुम्बामा करिब पाँच सय थान ज्याकेट निःशुल्क  वितरण गरिसक्नुभएको छ । यीमध्ये दुई सय ६० थान ज्याकेट पुनिल बालन ग्रुपले उपलब्ध गराएको हो भने बाँकी ज्याकेट एसियन ट्रेकिङले सहयोग गरेको हो । 
    
    जिल्लाको तेङ्बुचे गुम्बा, पेमाछोलिङ, गुम्बा, रिमिजुङ गुम्बा, थाङका पेन्टिक लुक्का, थाकसेन्दु गुम्बा, चिवाङ गुम्बा, सल्लेरी गुम्बा र व्यक्तिगत रुपमा पनि ज्याकेट वितरण गरिएको शेर्पाले जानकारी दिनिुभयो । उहाँका अनुसार अहिले विभिन्न गुम्बाबाट थप एक हजार चार सय थान ज्याकेटको माग भइआएको र सोको जोहोका लागि लागिपरेको बताउनुभयो ।
    
    व्यवसायी शेर्पाले गुम्बामा ज्याकेट, स्वास्थ्य शिविर, खाद्यान्य, लत्ताकपडालगायतमा अहिलेसम्म रु ५० लाखभन्दा बढी व्यक्तिगतरुपमा खर्च भइसकेको बताउनुभयो । भूकम्प, कोरोनालगायत महामारीका समयमा पनि स्वास्थ्य सामग्री र शिविर सञ्चालन र राहत वितरणमा करोडौँ रकम खर्चिसकेको उहाँको दाबी छ ।
    
    हाल सोलुमा एक सय २६ गुम्बा छन् । ती गुम्बाबाट एक हजार तीन सय ५९ भिक्षुलाई ज्याकेट माग भइआएकाले व्यवस्थापनका लागि लागेको शेर्पाले बताउनुभयो । उहाँले भविष्यमा उपलब्ध स्रोतअनुरुप वितरण गर्ने योजना रहेको सुनाउनुभयो । “निःशुल्क स्वास्थ्य शिविरको माग धेरै छ । पैसा भएपनि औषधि किन्ने स्थान नभएकाले चारदेखि छ महिनाको औषधिको माग पनि आइरहेको छ । गुम्बामा बस्ने धेरैजसो लामालाई उच्च रक्तचाप, छाती, आँखालगायतमा समस्या छ”, व्यवसायी शेर्पाले भन्नुभयो ।

    दुर्गमका मठमा भिक्षुहरुले सामना गर्ने चुनौतीलाई सम्बोधन गर्ने प्रयासमा व्यवसायी आङछिरिङ र डा लक्ष्मीको पहल तथा पुनित बालेन ग्रुपको सहयोगमा सोलुखुम्बुका दुर्गम हिमाली क्षेत्रका गुम्बामा न्यानो ज्याकेट वितरण गरिएको हो । यसले भिक्षुहरुको कठोर जीवनलाई केही सहजता प्रदान गरेको छ । 

    खुम्जुङमा जन्मिएर हुर्केका आङछिरिङ शेर्पा पर्यटन क्षेत्रमा मात्रै नभई  वातावरण संरक्षणको प्रयासमा पनि सक्रियरुपमा संलग्न हुनुहुन्छ । डा लक्ष्मीले पनि चिकित्सा पेसाबाट भएको आम्दानी सामाजिक काममा लगाउनुभएको छ । नेपालको पहाडी क्षेत्रको प्राकृतिक वातावरण र संस्कृतिक सम्पदा उहाँहरुको पहलहरुले संरक्षणको महत्वबारे चेतना जगाउनमा केन्द्रित छन् । 
    
    पुनित बालन समूहले सामाजिक आर्थिक समस्याको सामना गरिरहेका हिमाली क्षेत्रमा विपन्न समुदायलाई  खाद्यान्य, लत्ताकपडा र आश्रयजस्ता आवश्यक स्रोतहरु उपलब्ध गराउँदै आएको छ । साथै शिक्षा, स्वास्थ्य सेवा, र दिगो विकास परियोजनालाई समर्थन गर्दै तिनीहरुको पहलले कमजोर जनसङ्ख्यालाई सशक्त बनाउन र दीर्घकालीन समाजिक आर्थिक वृद्धि, सामाजिक उत्तरदायित्व प्रति प्रतिबिद्धता प्रदर्शन गर्दै समुदायको कल्याणमा केन्द्रित छ ।