सोमबार साँझ पौने ६ बजेतिर जीर्ण भैसकेको कैलालीको गोदावरी पुलबाट खसेर अछाम घर भएका ३९ वर्षीय शिक्षक रूपराज भाटको मृत्यु भएको छ । काठको पुलमा सेल्फी खिच्न लाग्दा गोदावरी खोलामा खसेका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) वेद प्रकाश जोशीले बताए ।
भाटको खुट्टा, टाउको र शरीरमा चोट लागेको छ । आफन्तहरूका अनुसार उनी घरबाट नेपालगञ्ज जान भनेर हिँडेका थिए । मृतकका भाई ठण्डराज भाटले खुट्टामा मात्र चोट लागेको भन्दै आफ्ना दाइको हत्या भएको दाबी गरेका छन् ।
तर, गोदावरीमा होटल सञ्चालन गर्ने एकजना महिलाले ‘नजानू' भन्दाभन्दै उनी जीर्ण पुलमा गएको र लडेको देखेको प्रहरीलाई बताएकी छिन् । प्रहरीले साँझ ५ बजेपछि सो पुलमा जान कडाइ गरेको डिएसपी जोशीले बताए । इलाका प्रहरी कार्याल मालाखेतीले घटनाबारे अनुसन्धान गरिरहेको छ । शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।