माघ १०, २०७८ सोमबार

प्रदेश नं १ मा राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि  सबै तयारी भइसकेको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेशमा तीन सिटको निर्वाचनका लागि सो तयारी गरेको हो।

निर्वाचनका लागि आयोगले प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० र वाली संरक्षण प्रयोगशाला विराटनगर–१० मा गरी दुई स्थानमा मतदान केन्द्र स्थापना गरेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए। मतदान बिहान ९ बजेदेखि ३ बजेसम्म हुने कार्यालयले जनाएको छ।

उक्त निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (गठबन्धन दल) बाट तीन, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई उम्मेदवार रहेका छन्।

गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसबाट गोपाल बस्नेत (झापा), एमालेबाट गुरु बराल (मोरङ) र राप्रपाबाट अम्बरबहादुर विष्ट (झापा), महिलाका लागि गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई (भोजपुर) र एमालेबाट सुमीत्रा भण्डारी (झापा) र राप्रपाबाट रञ्जु प्याकुरेल (झापा)  रहेका छन्।

अल्पसङ्ख्यकमा गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका हेमराज राई थुलुङ (भोजपुर) र एमालेबाट सोनाम ग्याल्जेन शेर्पा (सोलु) ले उम्मेदवार रहेकाे निर्वाचन कार्यालयले जनाएको छ। राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेशसभाका ९२ र  १३७ स्थानीय तहका २७२ मतदाता रहेका छन्। प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ भने स्थानीय तहको १८ हुने कार्यालयले जनाएको छ।