नेपालमार्ग डेस्क, काठमाडौं । अञ्जु पन्त र जगदीश समाल दुवै जनाले गाएको गजल ‘न बिर्सेँ तिमीलाई न पाएँ तिमीलाई’ नेपाली गजल गायनमा अब्बल मानिन्छ । दशकअघि सार्वजनिक श्रोता-दर्शकले अधिक् रुचाएको यस गजलको लोकप्रियता अहिले पनि उत्तिकै छ ।
विपिन किरणको शब्द रहेको यस गजलमा महेश खड्काको सङ्गीत छ । तर गीतकार विपिन किरणले गायिका रचना रिमालको स्वरमा यस गजललाई पुनः रेकर्ड गराएका छन् । रचनाको स्वरमा बिहीबार मात्रै यो गजल युट्युबमा सार्वजनिक गरिएको छ । गजललाई युट्युबमा मिश्रित प्रतिक्रिया आएको छ ।
केहीले अञ्जु पन्तको स्वरमा सुन्दै आएको गजललाई रचनाको स्वरमा सुन्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । तर, केही प्रतिक्रियाहरू नकारात्मक पनि छन् जुन मननयोग्य छन् । रचनाको स्वर राम्रो भए पनि अञ्जुले जस्तो न्याय गरेर गजल गाउन नसकेको श्रोता-दर्शकले प्रतिक्रिया दिएका छन् । केहीले यो गजल अहिलेसम्म नबिर्सिएको भन्दै पुनः रेकर्ड गर्ने बेला नभएको समेत बताएका छन् ।
गजलकार नृपेश उप्रेतीले रचनाको रिमेक स्वरले गीतको साख बढाउनुको साटो गिराएको प्रतिक्रिया दिएका छन् ।