माघ २४, २०७८ सोमबार

द हिन्दुका अनुसार भारतीय अभिनेत्री प्रियङ्का चोपडा नयाँ हलिउड फिल्म 'इन्डिङ थिङ्स' मा अमेरिकन अभिनेता एन्थोनी म्याकीसँगै मुख्य भूमिकामा देखिन लागेकी छिन्।

एन्थोनी मार्भल मुभिजको चर्चित शृङ्खला 'एभेन्जर्स' का मुख्य अभिनेता हुन्। उनी फाल्कनको भूमिका निर्वाह गर्दै आएका छन्। 

प्रियङ्का र एन्थोनीको यो फिल्म थ्रिलर जनराको हो। 'इन्डिङ थिङ्स' केभिन सुल्लीभानले निर्देशन गर्दै छन्।

हलिउडमा संघर्ष गर्दै गरेकी प्रियङ्काका लागि यो दोस्रो ठूलो फिल्म हो। यसअघि उनी 'द म्याट्रिक्स रिसरेक्सन्स' मा सतीको भूमिकामा देखिएकी थिइन्। फिल्ममा उनको भूमिका छोटो भए पनि महत्वपूर्ण थियो। 

प्रियङ्काको हलिउड प्रवेश सन् २०१५ मा रिलिज भएको सिरिज 'क्वान्टिको' बाट भएको थियो। उनको पहिलो हलिउड फिल्म भने सन् २०१७ मा रिलिज भएको 'बेवाच' हो।

पछिल्लो समय उनी फिल्म निर्माणमा पनि सक्रिय छिन्। 

प्रियङ्का अमेजनको सिरिज 'सिटाडेल', हलिउड फिल्म 'टेक्स्ट फर यु' का साथै बलिउड फिल्म 'जी ले जरा' मा पनि देखिँदै छिन्।

उनी हालै छोरीकी आमा पनि बनेकी छिन्। अमेरिकी गायक तथा अभिनेता निक जोनास र प्रियङ्काले सरोगेसीमार्फत् सन्तान जन्माएका हुन्।

निक र प्रियङ्काले सन् २०१८ मा बिहे गरेका हुन्। प्रियङ्का आफ्नो अभिनय करिअर सिलसिलामा अमेरिका पुगेपछि उनीहरूको भेट भएको थियो। यसपछि प्रियङ्का अमेरिकामा नै बस्दै आएकी छिन्।