महेश सिंह/सिरहा/लहान - सिरहाको नवराजपुर गाउँपालिकाको कार्यालय ४ वर्षदेखि जनता माध्यमिक विद्यालय सोनवर्षाको पुस्तकालय प्रयोजनका लागि बनाएको भवनमा गाउँपालिकाले कार्यालय सञ्चालन गरेको भन्दै स्थानीय जसपाका नेताहरूले विरोध जनाएका छन् ।
उक्त स्कुलमा करिब ६ सय विद्यार्थीहरू अध्ययनरत छन् । गाउँपालिकाको विकास निर्माणको कार्यमा प्रयोग हुने मेसिनसमेत विद्यार्थी पढ्ने कक्षा कोठामा स्टोर गरेर राखिएको छ ।
स्कुलको भवन खाली गर्न भन्दै स्थानीय नेता तथा जसपाका गाउँपालिका अध्यक्षका प्रत्यासी शिव उद्गार यादवको नेतृत्वमा एक समूहले शान्तिपूर्ण धर्ना आन्दोलन गर्न लागेका छन्।
यता गाउँपालिकाका अध्यक्ष विश्वमोहन यादवका अनुसार गाउँपालिकाको भवन निर्माण सम्पन्न हुन लगभग अन्तिम चरणमा रहेको बताएका छन् ।
उक्त विद्यालय एउटा समस्याबाट ग्रसित मात्र होइन, समस्याको पोका बनेको छ । विद्यालय व्यवस्थापन समिति विघटन भएको लामो समय भयो तर राजनीति कारणले गर्दा हालसम्म समितिविहीन रहेको छ ।
विद्यार्थीका लागि होस्टेल बनाएको भवनसमेत NMB बैंकसँग सम्झौता गरी भाडामा दिएका छन् ।
विद्यालयको गैरजिम्मेवारीकै कारणले गर्दा विद्यालयको मुहार नफेरिएको अभिभावकहरूको भनाइ रहेको छ ।