बुधबार साँझ आयोजित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा अभिनेता पल शाह उपस्थित हुन नसकेपछि आफ्नो फिल्मप्रति कसैको आँखा लागेको भन्दै अभिनेत्री तथा फिल्मकी निर्माता पूजा शर्मा धुरुधुरु रोएकी छिन् ।
कीर्तिपुरको पाँगामा नयाँ खुलेको फिल्म हल ‘कीर्तिपुर कप्लेक्स’ मा साँझ ५ः३० मा आयाेजित प्रिमियर पलकै कारणले करिब दुई घण्टा ढिलो सुरु भएको थियो ।
अभिनेता पल शाहविरुद्ध करणीसम्बन्धी उजुरी परेपछि उनी कार्यक्रममा सहभागी हुन नसक्दा पूजा निकै भावुक देखिएकी थिइन् ।
तीन वर्षअगाडि नै निर्माण सम्पन्न भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाको मुख्य भूमिका रहेको छ । फिल्म महाशिवरात्रिको छेको पारेर भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो ।