पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्तीकरणीको उजुरी परेको छ । प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्ने प्रयास गरेका छन् ।
उनले आफूमाथि नियोजित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट् चौलागाईंमाथि षडयन्त्र गरेको आरोप लगाएका हुन् । उनले लेखेका छन्, ‘ म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु। सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकाली सक्नुभएको होला र गाली गलौज पनि गर्दै हुनुहुन्छ होला ! तर पनि म तपाईंहरू सामु ममाथि गरिएको षडयन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु । केही दिनअगाडि प्रसारित अडियो क्लिपमा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप म माथि लगाइएको छ ती सबै नियोजित र षडयन्त्रपूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ ।
शाहले आफूमाथि षडयन्त्रको भएको प्रमाणस्वरूप केही अडियो प्रमाणहरू पनि सार्वजनिक गरेका छन् । ‘सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठीक भएको छ तपाईंहरू भगवान्रूपी दर्शक, मिडियाकर्मी साथीहरूले औंलाइदिनुहोला । यदि म दोषी भए नेपालको कानुनबमोजिम सजाय भोग्न तयार छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।