भ्लादिमिर पुटिनले युक्रेनमा गरिएको आक्रमणलाई लडाइँको रूपमा चित्रित नगर्न रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाएका छन्।
यो सैनिक अपरेसनलाई युक्रेनलाई नवनाजीवादबाट मुक्ति दिने अभियानका रूपमा लिनुपर्ने मान्यता उनको छ। सरकारी स्वामित्वको समाचार संस्था आरआइएले यसलाई ‘इतिहासमा दोस्रो पटक नाजीवादबाट युक्रेनलाई स्वतन्त्र पार्ने सशक्त अभियानका लागि ऐतिहासिक जिम्मेवारी’ भनेर प्रोपोग्यान्डा नै सुरु गरेको छ।
यो समाचार माध्यमले पाठकलाई नाजीको प्रतीकात्मक चिह्न स्वस्तिकालाई केही ‘कस्मेटिक करेक्सन’ गरी उच्च स्तरको पाउडर लेपन गरेर युक्रेन राज्यलाई सशक्त पार्ने सन्देश दिइरहेको छ। ‘युरोपले हेक्का नराखे पनि युरोपको समग्र स्वार्थ रक्षाका लागि हाल रुसले नाजी हटाउने अभियान ‘डि–नाजीफेकसन’ जारी राखेको छ,’ यो समाचार माध्यमले बारम्बार भनिरहेको छ।
यो सन्दर्भमा यो दावीको चिरफार गर्न आवश्यक छ। यही प्रोपोग्यान्डाले संकटको समयमा पुटिनको तानाशाहीलाई निरन्तर जारी राख्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ। पुटिनको तानाशाही नेतृत्वविना युक्रेनमा युद्ध सम्भव थिएन। रुसी सैनिक अभियानले अपेक्षित नतिजा नदिँदा पुटिनले यसप्रकारका प्रापोग्यान्डाको अधिक प्रयोग गर्ने निश्चित छ। पछिल्ला वर्षमा पुटिनले रुस र युक्रेनका बारेमा रुसी सर्वसाधारणलाई धेरै विरोधाभासपूर्ण कुरा भनेका छन्।
उनले सन् २००० देखि २००८ सम्म दुई कार्यकालमा रुसलाई आधुनिकीकरण गर्ने र पश्चिमसँगको सम्बन्धलाई सुदृढ गर्ने बताएका थिए। तर सत्ताको स्वाद पाएपछि उनी सत्तालाई निरन्तर कब्जामा कसरी पार्ने भन्नेतिर उन्मुख र उद्यत देखिन्छन्। आधुनिकीकरण गर्ने नाममा प्रहरी र राज्यको क्रूरतालाई प्रमुखता दिएका पुटिनले अहिले युक्रेनबिना रुस विश्व शक्ति नहुने दाबी गरेका छन्।
तर उनले सत्ता सम्हाल्दा युक्रेन रुसको समर्थनमा थियो र अझै पनि युक्रेनमा रुसको प्रभाव यथेष्ट छ। सन् २०१४ मा क्रिमियामा आक्रमण गरेर युक्रेनको स्वामित्वमा रहेको ७० प्रतिशत भूभागमा रुसले अधिपत्य जमाएपछि युक्रेनी सर्वसाधारणको रुसप्रतिको अवधारणामा परिवर्तन आएको हो।
रुसले आधुनिकीकरण गर्न र युक्रेनलाई आफ्नो स्वार्थ अनुकूल पार्न असफल रहेका पुटिनले यो क्रममा धेरै गल्ती गरेका छन् र यी गल्तीका लागि रुसको आगामी पिँढीले उनलाई माफ गर्ने छैन। सत्ताका सुरुका दिनमा पुटिनले रुसलाई युरोपियन युनियन तथा नाटोमा समेत सामेल गर्ने बताएका थिए। युक्रेनको स्वाधीनतालाई अस्वीकार गर्ने उनको सोच पनि थिएन।
सन् २००२ मा नाटोमा सहभागी हुने युक्रेनको चाहनाप्रति आफ्नो भनाइ राख्दै उनले भनेका थिए, ‘नाटोलाई विस्तार गर्ने सन्दर्भमा हाम्रो धारणा प्रष्ट छ। यो परिवर्तन हुँदैन तर युरोप तथा समग्र विश्वमा शान्ति तथा सुरक्षालाई सुदृढ गर्ने अभियानबाट युक्रेनलाई अलग्याउन मिल्दैन। युक्रेन सार्वभौम राज्य हो र उसले आफ्नो सुरक्षाका लागि स्वतन्त्ररूपमा निर्णय लिन सक्छ।’
तर सन् २००४ मा भ्रष्टाचार र चुनावी धाँधलीविरुद्ध युक्रेनमा ठूलो जनप्रदर्शन (ओरेन्ज रिभ्युलुसन) भएपछि पुटिन त्रसित भएका थिए। रुसमा पनि यस्तै भयो भन्ने के होला भन्ने चिन्ता उनमा देखिएको थियो। सन् २००८ मा पुटिनले यो सन्दर्भमा नयाँ धारणा सार्वजनिक गरेका थिए। नाटो तथा रुसी काउन्सिलको एक बैठकमा उनले युक्रेनप्रतिको यसअघिको धारणामा पुनर्विचार गर्ने संकेत गरेका थिए। त्यही आधारमा हाल युक्रेनविरुद्ध आक्रमक युद्ध छेडिएको छ।
त्यतिबेला पश्चिमा नेतृत्वले पुटिनले सार्वजनिक गरेको धारणालाई गंभिरतापूर्वक लिएको भए स्थिति फरक हुन्थ्यो। पछिल्ला ३ महिनामा पश्चिमा नेतृत्वले रुसको अर्काे कदम के हुनेछ भन्नेमा सही आकलन गर्न सकेन। त्यसो हुन सकेको भए समयमै युक्रेनलाई आवश्यक हतियार र आर्थिक सहयोग गर्न सकिन्थ्यो। उता पुटिनको उद्देश्य प्रष्ट थियो।
‘युक्रेनको दक्षिणमा रुसीमात्र छन्। त्यसो हुदा त्यहाँ हाम्रो स्वार्थ छैन भनेर कसले भन्न सक्छ?’ उनले भनेका छन्। त्यसो त, युक्रेनमा एकतिहाइ जनसंख्या रुसी मूलको छ। कुल ४ करोड ५० लाख जनसंख्यामध्ये १ करोड ७० लाख जनसंख्या रुसी मूलको छ तर कतिपय क्षेत्रमा रुसी मूलको जनसंख्या अत्यधिक छ।
उदाहरणका लागि क्रिमियामा ९० प्रतिशत जनसंख्या रुसी मूलको भनिएको छ। दोस्रो विश्वयुद्धपछि पोल्यान्डको आधिपत्यमा रहेको केही भूभाग तथा चेकोस्लाभाकिया तथा रोमानियाका केही भूभागसहित युक्रेनले हालको आकार लिएको हो। यसैगरी पूर्व र दक्षिण क्षेत्रमा धेरै रुसी भूभागलाई युक्रेनले प्राप्त गरेको थियो। राज्य निर्माणका लागि आफैंमा यो जटिल प्रक्रिया थियो। यो जटिलतामा अरूसहित नेटोको समस्या पनि थपिँदा युक्रेनको अस्तित्व चुनौतीपूर्ण देखिएको थियो।
पछिल्ला दुई जनगणना संरचनाको दावी पनि असत्य छ। युक्रेनका १ करोड ७० जनसंख्याले रुसी भाषालाई आफ्नो प्राथमिक भाषामात्र रहेको भनेका छन्। उता क्रिमियामा कुल जनसंख्याको ६० प्रतिशत भन्दा बढी रुसी रहेको देखिँदैेन। यो सन्दर्भमा १४ वर्षअघि पुटिनले अन्य देशमा रहेका रुसी जनसंख्याका आधारमा ती देशमा हस्तक्षेप गरेर ऐतिहासिक पुनरावलोकन गरिने प्रष्ट सन्देश दिएका थिए। यसो गर्दा उनले हिटलरको अनुशरण गरेका छन्। पोल्यान्डमा आक्रमण गर्नुभन्दा ६ महिनाअघि हिटलरले त्यहाँ रहेका जर्मन अल्पसंख्यकको सुरक्षाको तर्क दिएका थिए। चेकोस्लोभाकिया आक्रमणमा पनि यस्तै तर्क अघि सारिएको थियो।
नाजी जर्मनीले सन् १९२० र १९३० ताका अवलम्बन गरेको उग्र राष्ट्रवादको नारा पुटिनले लिएका छन्। तर उनले के हेक्का राखेका छैनन् भने सोभियत संघको पतन हुँदा यूद्धभूमिमा संघले पश्चिमा राष्ट्रसँग लडनु र हार्नुपरेको थिएन। यति ठूलो राष्ट्रको पतन आन्तरिक कारणले भएको थियो र त्यहाँको अभिजात वर्गका कारण भएको थियो।
यो ऐतिहासिक पृष्ठभूमिमा पुटिनले जताततै नाजीहरूको अभियान (मार्च) देखेका छन् भने त्यो अन्त नभै रुसमै छ। उनले वेगनर ग्रुपसँग आबद्ध रहेका तथा नवनाजीवादका प्रवर्द्धक मानिने डिमिट्री उटकिनसँग हातेमालो गरेका छन्। यो निजी ग्रुपलाई क्रेमलिनले सहयोग पुर्याउँदै आएको छ।
नाजी जर्मनीले चाहेझैँ क्रेमलिनले उत्तेजना र उक्साहट खोजेको छ, यो उचित छैन। युक्रेनलाई अपमानित गर्ने र पश्चिमा राष्ट्रलाई धम्क्याउने क्रममा रुसले अन्तर्राष्ट्रिय कानुनको अवज्ञा गरेको छ। युक्रेनका राष्ट्रपति भोलादिमिर जेलेन्सीलाई रुसले लागु पदार्थ दुव्र्यसनी तथा नवनाजीपथ समर्थकको रूपमा बदनाम गर्न चाहेको छ जबकि उनी आफैँ यहुदी हुन्। जेलेन्सीका हजुरबा दोस्रो विश्वयुद्धमा नाजीहरूविरुद्ध लडेका थिए र कैयन् आफन्त गुमाएका थिए।
(प्रोजेक्ट सिन्डिकेटबाट। स्लाओमिर सेराकोस्की जर्मनीको अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी काउन्सिलका सिनियर फेलो हुन्।)