फागुन २०, २०७८ शुक्रबार

 दुई वटा नयाँ फिल्मले शुक्रबारदेखि प्रदर्शन थालेका छन्। नेपाली एक्सन फिल्म ‘लप्पन छप्पन २’ र हलिउड फिल्म ‘द ब्याटम्यान’ले शुक्रवारदेखि एकसाथ प्रदर्शन थालेका हुन्। 

कोरोनाका कारण करिब दुई वर्ष प्रदर्शन रोकिएको ‘लप्पन छप्पन २’ अन्ततः शुक्रबारदेखि प्रदर्शनमा आएको हो। बिहीवार राजधानीमा कार्यक्रमको आयोजना गर्दै फिल्मको प्रिमियर शो गरिएको थियो। प्रिमियर शोमा उपस्थित कलाकार तथा कला क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूबाट फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ। 

सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाहीलगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मले मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ। फिल्मले काठमाडौं उपत्यकाका मल्टिप्लेक्समा १२ देखि ३१  प्रतिशतसम्म शो पाएको छ। जसमा सबैभन्दा धेरै बिग मुभिजले ३१ प्रतिशत शो दिएको छ भने सिडिसी सिनेमाजले ३०, बिएसआर मुभिजले २२, क्युएफएक्स चेनले १६ तथा क्युज सिनेमाजले १२ प्रतिशत शो दिएको छ। 

त्यस्तै‚ शुक्रवारदेखि नै प्रदर्शनमा आएको हलिउड फिल्म ‘द ब्याटम्यान’मा दर्शकको चाप सबैभन्दा धेरै छ। सर्वाधिक शोका साथ प्रदर्शन भइरहेको फिल्मले मल्टिप्लेक्समा २० देखि ५० प्रतिशतसम्म शो पाएको छ। 

डिसी कमिक्समा आधारित फिल्मको लेखन तथा निर्देशन म्याट रिभ्सले गरेका हुन्। फिल्ममा रोबर्ट प्याटिन्सन ब्याटम्यानको भूमिकामा देखिएका छन्। ‘द ब्याटम्यान’को क्रेज नेपालसँगै विश्वका अधिकांश देशमा देखिएको छ।

‘लप्पन छप्पन २’ र ‘द ब्याटम्यान’बाहेक यतिबेला हलमा अरु दुई फिल्म प्रदर्शनमा छन्। शुक्रवारदेखि नेपाली फिल्म 'म यस्तो गीत गाउँछु २' र बलिउड फिल्म 'गंगुबाइ काठियावाडी' दोस्रो सातामा प्रवेश गरेका छन्। दुई वटा नयाँ फिल्म प्रदर्शनमा आएपछि गत सातादेखि प्रदर्शनमा आएका फिल्ममा भने दर्शकको चाप घट्दो छ।