फागुन २४, २०७८ मंगलबार

 जेठ १३ देखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म 'कबड्डी ४' को पहिलो गीत केशरी सार्वजनिक भएको छ। राम अविरल बिष्टको शब्द र एस.डी. योगीको स्वर तथा संगीत रहेको गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। 

सार्वजनिक गीतलाई दर्शकले उत्साहजनक प्रतिक्रिया दिएका छन्। सार्वजनिक गीतमा अभिनेता सौगात मल्ल र मिरुना मगर देखिएका छन् भने दर्शकमा कौतुहलता जगाउने गरी गीतको अन्तिममा दयाहाङ राईलाई पनि देखाइएको छ। 

रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई रामबाबुले नै निर्देशन गरेका हुन्। सफल फिल्म सिरिज 'कबड्डी'को अन्तिम फिल्म भएकाले पनि 'कबड्डी ४' लाई बहुप्रतीक्षित फिल्मको रूपमा हेरिएको छ। यसअघि सार्वजनिक टिजरलाई पनि दर्शकले निकै मन पराएका थिए। 

बाँसुरी फिल्म्स र सुष्मा प्रोडक्सनको संयुक्त प्रस्तुति रहेको फिल्ममा दयाहाङ, सौगात र मिरुना बाहेक बुद्धि तामाङ, विजय बराल, गौमाया गुरुङ, कमलमणि नेपाल, कविता आले, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। ​