फागुन २६, २०७८ बिहिबार

‘कुमारी किसिने छोडा नहीं और श्रीमती किसिने बनाया नहीं’ यो डायलग पछिल्लो समय चर्चामा छ। जून फिल्म ’गंगुवाई कठियावाडी’ मा समावेश छ।

फिल्म गत शुक्रबार रिलिज भइसकेको छ। गंगा जगजीवनदास कठियावाडीको जीवनीमा आधारित फिल्मलाई ‘माफिया क्वीन्स अफ मुम्बई’ मा आधारित रहेर संजयलीला भन्सालीले निर्देशन गरेका हुन्। उनलाई निर्माणमा अन्यले पनि साथ दिएका छन्। भन्साली निर्देशित भएकै कारण फिल्म चर्चामा छ। साथै , माफिया क्विन भनीएकी गंगुवाईको जीवनी भएकाले पनि। फिल्ममा माथि उल्लेखित डायलग प्री–क्लाइमेक्समा आउछ। गंगुवाईले स्टेजमा सम्बोधन गर्नुपर्ने हुन्छ।

उद्घोषिकाले उनलाई सुश्री, श्रीमती के भनेर सम्बोधन गर्ने भेउ पाउदिनन्। त्यही समय गंगुवाईले उपरोक्त डायलग बोल्छिन् माइकबाटै जसले वेश्यावृत्तिमा लागेका महिलाको पीडा बोल्छ। आफ्नो अधिकारको बारेमा बोल्न पुगेकी गंगुवाईले त्यहाँ आफूलाई पनि आम नागरिक सरह अधिकार दिन आग्रह गर्छिन्।

समाजका लब्धप्रतिष्ठित व्यक्तित्वलाई सम्बोधन गर्दै धाराप्रवाह भाषण गर्ने उक्त दृश्यमा गंगुवाईले कटाक्ष गर्छिन्,’ आपकी इज्जत एक बार गइ तो गइ, पर हमारी इज्जत हर रात लुट्ती है। पर जाति हि नहीं।’ यही डायलगले भाषण सुन्नेलाई भावशून्य बनाइदिन्छ। यसले वेश्यावृत्तिलाई समाजसँग जोड्ने पुलको रुपमा व्याख्या गरिएको छ। निर्देशक भन्सालीले फिल्ममा गंगा हुँदै गंगुवाई बनेदेखि वेश्यावृत्तिलाई कानुनी मान्यता दिलाउन सफल कथा पेश गरेका छन्।

गंगा ९आलिया भट्ट० सुन्दर छिन्। उनलाई हिरोइन बन्नु छ। काठीयावाड जस्तो सानो सहरमा हुर्किदै गरेकी गंगाको सपना ठूलो छ। सपना त्यहाँ पुरा हुन सम्भव छैन। उनलाई पुग्नु छ , मायानगरी मुम्बईमा। घरपरिवारसँग सल्लाहमा आफ्नो सपनाले मूर्तरुप नपाउने औलाएपछि गंगा आफ्नो प्रेमीसँग भागेर मुम्बई जाने निर्णय लिन्छिन्। यसमा उनका प्रेमी रमणिक ९वरुण कपूर० ले पनि जोड दिन्छन्। आफ्नो चाहना र प्रेमीको करकापकै कारण सुनौलो भविष्यको सपना देखेर मुम्बई हिड्छिन्, गंगा। उनलाई प्रेमीले मुम्बई त पुर्याउछन् तर पैसाको लागि।

रमणिकले गंगालाई एक हजारमा कमाठीपुराको बदनाम गल्लीमा बेचिदिन्छन्। गंगालाई किन्छिन् , शीलावाई ९शीमा पावा० ले।

रमणिकले आफ्नो नातेदार भनेर त्यहाँ गंगालाई शीला आफ्नो नातेदार भनेका हुन्छन्। तर, गंगा शीलाको कोठीमा पुग्ने बित्तिकै रमणिक फरार हुन्छन्। विद्रोह गरेता पनि अन्ततः गंगा त्यहाँको प्रचलन अनुरुप आफूलाई प्रस्तुत गर्न तयार हुन्छिन्। अर्थात् उनी पनि त्यहाँ काममा लाग्छिन् र बन्छिन् गंगु।
काममा लाग्दै गर्दा विस्तारै उनले त्यहाँ साथी मात्र पाउदिनन् , सबैको प्रियसमेत बन्दै जान्छिन्। एकदिन उनका लागि आइपुगेको ग्राहकले भौतिक आक्रमण गरेर शारीरिक चोट पुर्याएपछि गंगु न्याय माग्दै रहिम लाला ९अजय देवगन० कहाँ पुग्छिन्। गंगुले भोग्नु परेको क्रुर पीडा देखेपछि रहिमले उनलाई सहयोग गर्ने वचन दिन्छन्। उनले दिएको त्यो बचन माफिया वा ग्यांगस्टर भन्दा पनि एक भाइको हिसाबले बुझ्न भन्छन्।

त्यसपछि गंगुलाई चोट पुर्याउने ग्राहक पुनः आएको खबर पाएपछि रहिम आफै पुगेर सजाय दिन्छन्। त्यसपछि गंगुलाई रहिमको बहिनिको रुपमा कमाठीपुरामा चिनिन्छ।

शीमावाईको निधन भएपछि गंगुकै नजिककी साथी कमली ९इन्दिरा तिवारी० ले वाई बन्न प्रस्ताव गर्छिन्। अन्ततः उनी गंगाबाट गंगु हुँदै बन्छिन् , गंगुवाई। देह व्यापारमा रहेका महिलाहरु माँझ उनी विस्तारै पपुलर हुन्छिन्। उनले गर्ने गतिविधिले उनलाई प्रिय बनाइरहेको हुन्छ। यक्त समयमा आउछ , कमाठीपुराको प्रेसिडेन्ट इलेक्सन। उनले पनि आफू अध्यक्षका लागि उम्मेदवारी दिने सोच बनाउछिन्। तर, उनले सामना गर्नुपर्ने हुन्छ राजियावाई ९विजय राज० को। राजिया वर्तमान अध्यक्ष मात्र होइनन्, उनले त्यसअघि पनि चुनाव जितेकी हुन्छिन्। आफ्नो दबदबालाई सहजै रुपमा राजियाले छोड्ने कुरै भएन। अध्यक्ष बन्न गरिरहेको संघर्षकै बीचमा गंगुवाईको मौलाउँदै गरेको अफसान ९शान्तनु महेश्वरी० सँगको प्रेमले सार्थकता पाउदैन।

गंगुवाईले आफ्नो लोकप्रियतालाई फैल्याउन हरप्रयास गर्छिन्। देहव्यापारमा संलग्न मार्फत नै अल्कोहल बेच्न लगाउने, कमाठीपुराको चेलीलाई विवाह गरेर डोली चढाई पठाउने लगायतका गतिविधिले उनलाई अध्यक्षमा विजयी गराउछ। अध्यक्ष बनिसकेपछि उनलाई सहज भने पक्कै हुदैन। उनले त्यहाँका बालबालिकालाई शिक्षा दिलाउनु मात्र छैन, कमाठीपुरालाई यथावत राख्दै देहव्यापारलाई कानुनी मान्यता दिलाउनु पनि छ।

कमाठीपुराको छेउमै रहेको एक विद्यालयले देह व्यापार बन्द गर्नु पर्ने भन्दै आन्दोलनसँगै अदालतमा मुद्दा दायर गरेपछि गंगुवाईको राज्य विरुद्धको लडाइँ सुरु हुन्छ। उक्त लडाइँमा उनलाई पत्रकार अमिन फैजी ९जिम सार्व० ले साथ दिन्छन्। चुनावी माहोल भएको र कमाठीपुराको अध्यक्ष भएकै कारण उनीसँग झन्डै चार हजार मत हुन्छ। यसै कारणले गर्दा नेताहरु त्यहाँ धाउने गर्छन्। यसैक्रममा उनले आफ्नो आवाज प्रधानमन्त्री समक्ष पुर्याउने प्रस्ताव मत माग्न आएका नेतालाई गर्छिन्। भोटकै कारण उक्त नेताले प्रधानमन्त्री जवाहरलाल नेहरु ९राहुल वोहरा० लाई भेट गराउछन्।

प्रधानमन्त्री मार्फत १५ मिनेटको समय पाएपछि कमाठीपुराबाट दिल्ली लाग्छिन्, बिर्जु ९अनमोल कजानी० सँग गंगुवाई। प्रधानमन्त्रीलाई भेटेर उनले राख्ने प्रस्तावले मूर्तरुप पाउँछ कि पाउदैन रु यसका लागि भने फिल्म हेर्दा नै उचित होला। गंगुवाईको जीवनीलाई यही लयमा निर्देशक भन्सालीले प्रस्तुत गरेका छन्।

अघिल्ला फिल्म झैँ भन्साली यसमा खरो उत्रिन सकेका छैनन्। ब्ल्याक, गुजारिस जस्ता सार्थक फिल्म मात्र होइन रामलीला र बाजिराव मस्तानी जस्ता व्यवसायिक फिल्ममार्फत समेत नयाँ पुस्ताका दर्शक माँझ निर्देशकको रुपमा स्थापित भन्सालीले यसमा धेरै तथ्य समेट्दा डेप्थमा पुग्न सकेका छैनन्। गंगुले वाई बनेर स्थापित भएको, कमाठीपुराको अध्यक्ष बनेको, कमाठीपुरामा आफ्नै प्रेमीको डोली ल्याएर एक चेलीलाई विवाह गरेर पठाएको, देह व्यापारमा संलग्न महिलाको छोरीलाई शिक्षाको अधिकार दिएको र देह व्यापारलाई कानुनीरुपमा मान्यता दिन गरेको संघर्षलाई एउटा फिल्ममा समेट्दा भन्साली छरिएका छन्। एकै विषयमा केन्द्रिकृत हुन नसक्दा फिल्मको मुलद्वन्द्वमा केही खल्लोपन पक्कै आएको छ।

दर्शक भन्साली निर्देशित फिल्म भनेर हलसम्म पुगेका छन्। तसर्थ उनलाई आफ्नो लयबाट अन्तै हिड्न छुट छैन। सार्वजनिक ट्रेलरमा देखिएको राजियावाईको दमदार एन्टागोनिस्ट अवतार फिल्म हेर्दा फिक्का लाग्छ। राजियावाईको चरित्रलाई जीवन्त उतार्न कुनै कसर छाडेका छैनन्, विजयले। गंगुवाईसँगको उनको टसललाई सामान्य तरिकाले फिल्ममा देखाउदा ट्रेलर हेरेर हलसम्म पुगेका दर्शक निराश बन्न पुग्छन्।

यति मात्र होइन, आफ्नो प्रेमको त्याग गरेर कमाठीपुरामा जन्ती ल्याउने र त्यहाँ जन्मिएकी चेलीलाई विवाह गरेर सामान्य जीवनमा पठाउने दृश्य सामान्य होइन। तर, यसका लागि गंगुवाईले धेरै संघर्ष गर्नै पर्दैन। केवल उनले आफ्नो प्रेमको त्याग गर्छिन्। देह व्यापारमा लागेकी महिलाको छोरीले सामान्य जीवन पाउने भएपछि त्यहाँ सन्तान जन्माउन् चाहने बढ्छन् किनकी उनीहरुलाई पनि त्यो आश बढ्छ। तर, निर्देशक भन्सालीले यसलाई प्रेम समर्पणको भावमा मात्र प्रस्तुत गरेका छन्। त्यो पाटोलाई उनले यति सहज हिसाबले प्रस्तुत गरेका छन् कि त्यो उनका फ्यानलाई निराश बनाउने किसिमको छ।

यस्तै प्रधानमन्त्रीलाई भेट्ने दृश्य पनि सहज नै छ। त्यस भित्रको संघर्षलाई निर्देशकले देखाएनन्। देह व्यापारलाई कानुनी मान्यता दिन हुने खिचातानी पनि त्यहाँ छैन। यसलाई निर्देशकले सहजै प्रस्तुत गरेका छन्। भन्सालीकै फिल्म ब्ल्याक , सावरिया र गुजारिस हेर्ने हो भने उनले त्यहाँ प्रस्तुत गरेको विषयलाई गहिराइमै पुगेर दर्शकसामु प्रस्तुत गरेका छन्। यद्दपी ’गंगुवाई कठियावाडी’ मा देह व्यापारलाई कानुनी मान्यता दिने दृश्य निकै सहज छ।

फिल्मको स्क्रिनप्लेमा भन्सालीसँग चुकेका उत्कर्षिनी वशिष्ठले डायलगमा भने प्रकाश कपडियासँग मिलेर केहि राहत दिएका छन्। हाइवे, उड़ता पञ्जाब, राजी जस्ता फिल्ममा अभिनय गरेर चर्चा कमाएकी आलियालाई ‘गंगुवाई कठियावाडी’ ले निकै चर्चामा ल्यायो। यद्दपी संजय लीला भन्साली निर्देशित भएकै कारण आलियालाई लिएर समेत दर्शकले बढी अपेक्षा राखे। फलत प्रयाशरत आलियाको अभिनयमा मिहिनेत देखिए पनि दर्शकका लागि उनको सानो उमेर, कद र मसिनो बोलीका कारण मिसकास्ट जस्तो लाग्छिन्। उनले गंगा र गंगुको भूमिकालाई न्याय दिएता पनि गंगुवाई बनेपछि परिवर्तन ल्याउन सकेकी छैनन्। दर्शकले गंगा, गंगु र गंगुवाईमा फरक पाउदैनन्। यसैले गर्दा पनि उनले गर्ने गतिविधिसँगै बोल्ने दमदार डायलगले पनि न्याय पाउदैन।

गंगुवाईको जीवनी सरसर्ती हेर्नेलाई यो फिल्मले निराश नबनाउला, यसअघि संजयकै अन्य फिल्म नहेरेका दर्शकलाई पनि प्रस्तुति र डायलग निकै दमदार लाग्न सक्छ, आलियाकै हाइवे र राजी नहेर्ने दर्शकले पनि उनको भूमिकालाई ‘वाह’ भन्नेछन्। तर, भन्सालीका हार्डकोर फ्यान जसले उनलाई पछिल्ला फिल्मदेखि पछ्याउदै आइरहेका छन्, उनीहरु भने ’वाह’ भन्न पक्कै सक्दैनन्। माधुरी दीक्षित, दीपिका पादुकोण , ऐश्वर्या राय, रणवीर सिंह जस्ता कलाकारको अभिनय निखारेका संजयले यसपटक आलियालाई त्यही पथमा हिडाउन सकेका छैनन्। वा आलिया हिंड्न सकेकी छैनन्।