शुक्रबारदेखि तीनवटा नयाँ फिल्मले एकसाथ प्रदर्शन थालेका छन्। नेपाली फिल्म 'आकाशे खेती'सहित दुईवटा भारतीय फिल्म 'राधे श्याम' र 'इथरकुम थुनिन्धवन'ले एकसाथ प्रदर्शन थालेका हुन्।
उदय सुब्बाको निर्देशनमा बनेको कमेडी ड्रामा 'आकाशे खेती'ले मल्टिप्लेक्समा न्युन सो पाएको छ। विल्सन विक्रम राई, गौरव पहाडी, रजनी गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चिङबाङ र दिल प्रकाश यक्सोले संयुक्त रूपमा निर्माण गरेका हुन्। फिल्मको पटकथा एवम संवाद विल्सन विक्रम राईको हो।
यतिबेला हलमा सबैभन्दा धेरै सो राधा कृष्ण कुमारको लेखन तथा निर्देशन रहेको 'राधे श्याम'ले पाएको छ। ३ सय ५० करोड९भारु० बजेट रहेको फिल्म नेपालका सबैजसो मल्टिप्लेक्समा पचास प्रतिशत सोका साथ प्रदर्शन भइरहेको छ। फिल्ममा दर्शकको उपस्तिथिति पनि उल्लेख्य छ।
प्रभास र पूजा हेगडेको मुख्य भूमिका रहेको फिल्म पिरियड रोमान्टिक ड्रामा जनरामा बनेको छ। फिल्म तेलुगु र हिन्दी भाषामा डब छ। भारतको सबैभन्दा महँगा अभिनेताको रूपमा चिनिने प्रभासको 'बाहुबली' पछि यो दोस्रो फिल्म हो। यसअघि २०१९ मा उनको साहो प्रदर्शनमा आएको थियो।
'राधे श्याम'का कारण शुक्रबारदेखि नै प्रदर्शनमा आएको तामिल फिल्म 'इथरकुम थुनिन्धवन'ले पनि हलमा कम सो पाएको छ। एक्सन थ्रिलर जनरामा बनेको फिल्ममा सुरिया, प्रियंका आरुल मोहन, सत्यराज, विनय राज, सरन्या पोन्भनन् लगायतका कलाकारको मुख्य भूमिका रहेको छ जसको लेखन तथा निर्देशन पाण्डिराजले गरेका हुन्।
यीबाहेक बलिउड फिल्म 'गंगुबाई काठियावाडी', हलिउड फिल्म 'द ब्याटम्यान' र नेपाली फिल्म 'म यस्तो गीत गाउँछु २' पनि प्रदर्शनरत छन्। 'गंगुबाई काठियावाडी' र 'म यस्तो गीत गाउँछु २' तेस्रो हप्तामा प्रवेश गरेका छन् भने 'द ब्याट म्यान' दोस्रो हप्तामा प्रवेश गरेको छ। गत हप्तादेखि प्रदर्शन थालेको नेपाली फिल्म 'लप्पन छप्पन २' भने हलबाट उत्रिएको छ।