गैरकानुनी रूपमा तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राविको जग्गा बिक्री वितरण गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष घनश्याम बानियाँसहित २० जनाविरुद्ध मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दायर गरेको हो । तत्कालीन विद्यालय व्यवस्थापन समितिले निर्णय गरी विभिन्न व्यक्तिहरूलाई घरसारको कागज बनाई सार्वजनिक जग्गा गैरकानुनी रूपमा बिक्रिवितरण गरेको खुलेको अख्तियारले उल्लेख गरेको छ ।
विद्यालय व्यवस्थापन समितिको २०५१ वैशाख ११ गतेको निर्णयले सरकारी र सार्वजनिक जग्गालाई घरसारको कागजातहरू बनाइ आफैंले घडेरी नम्बर कायम गरी सरकारी सार्वजनिक सम्पत्ति गैरकानुनी रूपमा भोगचलन गर्नेगरी बिक्री गरेको पाइएको अख्तियारले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ, सदस्य सचिव (प्रधानाध्यापक) यामबहादुर ठकुरी, सदस्यहरू घनश्याम बानियाँ, हरिकुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँले १ लाख ६९ हजार ५१ रुपैयाँ लिएर सरकारी जग्गा भोगचलन गर्ने गराउने कसुर गरेको अख्तियारले जनाएको छ ।