चैत ४, २०७८ शुक्रबार

बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्ध आज बिहीवार नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । 

१६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले अभिनेता शाहविरुद्ध अभियोगपत्र दायर गरेको हो । ती किशोरीले आफूलाई एक वर्षअघि गैँडाकोटको एक होटलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा अभिनेता शाहविरुद्ध दिएको उजुरीको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो ।

सरकारी वकिलको कार्यालयले अभिनेता शाहलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग दाबी गरेको छ ।

अभिनेता शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को  (३) को (ग) अनुसार सजाय माग गरिएको छ । यो दफामा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेमा १२ देखि १४ वर्ष कैद सजाय हुने उल्लेख छ ।

अहिले जिल्ला प्रहरी कार्यालय तनहुँ हिरासतमा रहेका पलमाथि अनुसन्धान चलिरहेको छ । यसअघि गएको फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको थियो ।