काठमाडौं : ‘साहित्यमा आदीवासी सौन्दर्य लेखौं, अग्रगमनको यात्रामा अघि बढौं,’ भन्दै आदिवासी जनजाति साहित्यकार महासंघ नेपालको पहिलो राष्ट्रिय भेला सुरु भएको छ । जनकवी दुर्गालाल श्रेष्ठको ‘सी अथें छाय् स्योतुँ भाय्’ अर्थात ‘जातीको ज्यान हो भाषा’ शिर्षकको कविता वाचन सहित भेला सुरु भयो । जनजाती महिलाको अवस्था बारे बोल्दै अनुसन्धाता कैलाश राईले आधुनिक राज्यको विकाससंगै आदीवासी, जनजाती महिलालाई श्रमिकमा रुपान्तरण गरेको विचार व्यक्त गरिन् । राज्यले आदीवासी, जनजाती महिलाको जीवन दर्शनलाई उपेक्षा गर्दै एकल जातिय चिन्तन र भाष्य निर्माण गरेको उनले बताईन् । महासंघ उपाध्यक्षद्ध्य गोविन्द छन्त्यालले आदीवासी जनजातीको दृष्टिबाट साहित्य लेख्दै नेपाली इतिहास पुर्नलेखन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । नारायण वाग्ले, भेलालाई सम्बोधन गर्न पुगेका लेखक, पत्रकार तथा नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले आदीवासी साहित्यकार आफैमा प्रतिरोधको नाम भएको बताए । लोकतन्त्रलाई पुनः परिभाषित गर्न आदीवास, जनजातीको मौलिक ज्ञान, सीप समाजको मुलधारमा आउनुपर्ने आवश्यकता रहेको वाग्लेले औंल्याए । भेलामा फुलकुमार बम्जनले तामाङ्ग भाषाको कविता सुनाए । छविलाल कोविलले थारु भाषामा कविता सुनाए । भेलालाई सम्बोधन गर्दै कवि तथा गीतकार भुपाल राईले आदीवासी, जनजाती आफ्ना मुद्धाहरुलाई राजनीतिकरण गर्दै सत्तासम्म पुर्याउनुपर्ने विचार व्यक्त गरे । आदीवासी, जनजातीले सत्तासम्म पहुँच पर्याउनका लागि सामुहिक रुपमा लाग्नु पर्ने उनको भर्नाइ थियो । नेपाल लेखक संघका अध्यक्ष समेत रहेका कवि श्रवण मुकारुङले देशभरका आदीवासी, जनजातीको सौन्दर्य शास्त्रलाई सैद्धान्तिकरण गरेर मुल प्रवाहमा ल्याउन महासंघलाई सुझाए । देशभरका विभिन्न ८ वटा राज्य समीतिबाट भेलामा सहभागि हुन आएका विभिन्न भाषाका साहित्यकारलाई नेवाः दवु सल्लाहकार डा. पुष्पराज कर्णिकार, पत्रकार सञ्जु दोङ्ग, अभियन्ता तथा मधेश मामिलाकी अध्यता रिता शाह लगायतले सम्बोधन गरे । भेलामा डा. दुर्गालाल श्रेष्ठले आदीवासी सौन्दर्य शास्त्रको महत्व र आवश्यकता । अमृत योञ्जनले नेपालमा मातृभाषाको अवस्था सम्बन्धी अवधारणा पत्र प्रस्तुत गरेका थिए । महासंघका संयोजक लेखक राजन मुकारुङ्गले एकल भाषा, चिन्तन, दर्शन र सौन्दर्यबोध निर्माणमा लागिरहेको राज्यसंग प्रतिरोध गर्न महासंघको स्थापना भएको बताए । उनले भने, ‘नेपालमा अहिलेसम्म एउटै दर्शन, धर्म, संस्कृति, जाति, सभ्यताको मात्रै सौन्दर्य लादियो । अब त्यसका विरुद्ध नयाँ सौन्दर्य निर्माण गर्ने हो । सौन्दर्यशास्त्र निर्माण गरिएको कुरालाई लागु गर्नका लागि यो महासंघ निर्माण भएको हो ।’ आदीवासी, जनजातीमा विकसित हुँदै गएको राजनीतिक चेतनाले नै महासंघ निर्माण गरेको उनको भनाई थियो । आईतबार समाप्त हुने भेलाले घोषणापत्र पनि सार्वजनिक गर्नेछ । यसका साथै देशभरका आदीवासी, जनजातीका विभिन्न पक्षमाथि अध्ययन, अनुसन्धन गर्न प्राज्ञिक परिषद समेत गठन गर्नेछ ।