चैत ९, २०७८ बुधबार

गायक धिरज राईको सुपरहिट गीत ‘लुकी लुकी’ २५ वर्षपछि भिडियोमा फेरि सार्वजनिक गरिएको छ । २५ वर्ष अगाडि नेपाल टेलिभिजनमा खिचिएको गीतको भिडियोमा धिरज राईलाई मात्र देख्न सकिन्छ । तर, ट्रि इन्टरटेन्मेन्टले यसपटक भिडियो मेकिङ गर्दै नयाँ स्वरूप दिएको छ ।

धिरज राईको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । भिडियोमा नायिका आँचल शर्माको साथमा दुई कलाकार राज र डेलविसको डान्स हेर्न सकिन्छ । किर्तिपुर सिनेप्लेक्समा आयोजित कार्यक्रममा बोल्दै धिरजले भने–‘मलाई दर्शकले सधै गीतको भिडियो बनाउन भन्नुहुन्थ्यो । युट्युबमा गएर गीत खोज्दा २५ बर्ष अगाडिको पुरानो भिडियो मात्र देखिन्थ्यो । अहिले गीत हेर्ने पनि जमाना भएकाले भिडियो बनाउने निर्णय गरेको हुँ ।’

धिरजले आफूलाई अन्य थुप्रै कम्पनीले भिडियोका लागि प्रस्ताव गरे पनि तयार नभएको सुनाए । भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ । कार्यक्रममा बोल्दै नायिका आँचल शर्माले आफूले सानैबाट सुन्दै आएको हिट गीतमा काम गर्न पाउने खुशीको कुरा भएको बताइन् ।

निर्देशक माइकल चन्दले पनि यो गीतको भिडियो निर्देशन गर्न पाउनु आफ्ना लागि चुनौती र अवसर दुवै भएको सुनाए । कार्यक्रममा शुभकामना दिँदै नायक शिव श्रेष्ठले एउटा सफल गीतमा कलाकारहरूले उत्कृष्ट काम गरेको बताए ।