चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै छन् । विश्व शक्ति राष्ट्र तथा उत्तरी छिमेकी चीन र नेपालबीच आर्थिक, राजनीतिक तथा सभ्यतागत सम्बन्ध रहेको छ । त्यसैगरी रणनीतिक तथा सुरक्षा चासोहरू पनि नेपाल र चीनबीच रहेका छन् ।
पछिल्लो समय नेपाल-चीन सीमा विवाद, एमसीसी लगायतका विषयहरूले चीन र नेपालबीच अविश्वास सिर्जना भयको देखिन्छ। नेकपा एमाले नेतृत्वको सरकारले चीनसँग कुनै सीमा विवाद नरहेको भन्दै गर्दा नेपाली कांग्रेस पार्टीले चीनलाई नेपालको सीमा मिचेको आरोप लगाएको थियो। जसको प्रभावस्वरूप शेरबहादुर देउवा प्रधानमन्त्री भइसकेपछि नेपाल-चीन सीमा विवाद जाँचबुझ समितिसम्म बनाइएको यथार्थ हो । यसले जर्दा चीनसँग नेपालको सम्बन्धमा असहजता आएको थियो। भारतपछि सबैभन्दा बढी तिब्बती शरणार्थी रहेको नेपाल चीनको सुरक्षा चासोका सवालमा महत्त्वपूर्ण देश हो। पछिल्लो समय चीन र अमेरिकाबीच बढ्दो वैश्विक प्रतिस्पर्धा तथा नेपालको संसद्ले एमसीसी स्वीकारेका कारण चीन नेपालसँग केही सशंकित देखिन्छ। यसै सन्दर्भमा हुँदै गरेको चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणमा नेपालले चीनलाई उसको सुरक्षा संवेदनशीलतामा आश्वस्त तुल्याउन जरुरी छ।
चीनसँग सीमा विवाद होस् वा एमसीसीको खिचातानी होस्- नेपालका आन्तरिक शक्तिहरूबीच विदेश नीतिका सवालमा एकरूपता देखिँदैन। विदेश नीति जस्तो संवेदनशील विषयहरूमा एकरूपता नहुँदा नेपाललाई अन्य देशसँग सहकार्य तथा समुधुर सम्बन्ध राख्न निकै कठिनाइ भइरहेको छ। एकरूपता नहुँदा नै अन्य देशहरूले पनि नेपाललाई विश्वास गरिरहेका हुँदैनन्। त्यसको असर नेपाल-चीन सम्बन्धमा पनि देखिन्छ। वाङ यीको भ्रमणका सन्दर्भमा नेपालले आफ्ना बृहत् राष्टिय स्वार्थहरू तथा बदलिँदो विश्व भूराजनीतिलाई ख्याल गर्दै चीनसँगको आफ्ना स्वार्थहरू स्पष्ट राख्दै चीनसँगको सम्बन्धमा एकरूपता देखाउन जरुरी रहेको छ।
गत चुनावको मुखमा बाम एकता गर्न सहयोग गरी आफ्नो प्रभाव निकै बढाएको चीन बाम एकता टुटेसँगै रक्षात्मक देखिन्छ। नेपालमा मात्र नभई अन्य देशमा पनि निश्चित परिवार (श्रीलंकामा), पार्टी (नेपाल), व्यक्ति (माल्दिभ्स) वा शक्ति विशेष नीति अँगाल्न रुचाउने चीनलाई नेपालका सन्दर्भमा बाम पार्टी विशेष नीति आत्मघाती भएको हो। चीनले नेपालका बाम पार्टी विशेष विदेश नीति लिँदा नै नेपाली कांग्रेस चिडिएको भन्नेसम्मको आरोप सुनिने गर्छ। तसर्थ, नेपालमा कुनै पार्टीभन्दा पनि राज्य विशेष नीतिलाई प्राथमिकता दिनु नै चीन तथा नेपाल दुवैका लागि हितकारी हो। नेपाल जस्तो निकै संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको मुलुकमा कुनै पनि छिमेक (भारत, चीन वा अमेरिका) ले नेपालका पार्टी केन्द्रित नीति अँगाल्नु आत्मघाती हुने देखिन्छ। आशा छ- वाङ यीले पनि विगतका गल्तीहरूबाट पाठ सिक्दै नेपाल-चीन सम्बन्धलाई दीर्घकालीन रूपमै बलियो बनाउने मार्गतर्फ लैजान यस भ्रमणको सदुपयोग गर्नेछन् । वाङ यीको नेपाल भ्रमण सफल रहोस् ।
✍️टेकराज कोइराला