संसारभरिका सिने क्षेत्रलाई ओस्कर अवार्ड समारोहको खास प्रतीक्षा हुन्छ । जीवनमा एकपल्ट यो प्रतिष्ठित अवार्ड आफ्नो नाममा पार्ने सपना अक्सर कलाकारको हुन्छ ।
यो समारोह २८ मार्चमा हुँदैछ । लस एन्जलसमा हुने यो इभेन्टका लागि कैयौँ दिग्गज हस्तीहरूलाई आमन्त्रित गरिएको छ । ओस्कर अवार्ड २०२२ पाउन सक्ने फिल्म र कलाकारहरूको सम्भावित
नामः
बेस्ट फिल्म
ओस्कर अवार्डका लागि 'बेलफास्ट', 'कोडा', 'डोन्ट लुक अप', 'ड्राइभ माई कार', 'ड्यून', 'किङ रिचर्ड', 'लिकोरिस पिज्जा', 'नाइटमेयर ऐले', 'द पावर अफ द डग', 'वेस्ट साइड स्टोरी' मनोनयनमा परेका छन् । तर, फिल्म 'कोडा' ले यसपल्ट वेस्ट फिल्म अवार्ड आफ्नो नाममा पार्नसक्ने चर्चा छ । यो फिल्मलाई सियान हेडेरले निर्देशन गरेका हुन् । फिल्ममा एमिलिया जोन्स, मार्ली मेटलिन र ट्रय कोटसर प्रमुख भूमिकामा छन् ।
बेस्ट एक्टर
बेस्ट एक्टरको अवार्ड चर्चित अभिनेता विल स्मिथले लैजान सक्छन् । उनले 'किङ रिचर्ड' बाट यो अवार्ड पाउन सक्ने विश्लेषकहरूको अनुमान छ ।
यो क्याटेगोरीमा विल स्मिथसँगै जेभियर बर्डेमलाई 'बीइङ द रिकार्डोस', बेनेडिक्ट कम्बरबेचलाई 'द पावर अफ द डग', एन्ड्रयू गारफिल्डलाई 'टिक, टिक ‘ बूम १' र डेनजेल वाशिंगटनलाई 'द ट्रेजेडी अफ मेकबेथ' का लागि मनोनयमा राखिएको छ ।
बेस्ट एक्ट्रेस
यसपल्ट बेस्ट एक्ट्रेसको अकेडमी अवार्ड जेसिका चेस्टेनले जित्न सक्छिन् । उनलाई यो अवार्ड 'द आइज अफ टेमी फेय' ले दिलाउन सक्छ । यो क्याटेगोरीमा ओलिभिया कोलमेनलाई 'द लस्ट डटर', पेनेलोप क्रूजलाई 'प्यारलल मदर्स', निकोल किडमेनलाई 'बिइङ द रिकार्डोस' र क्रिस्टन स्टिभर्टलाई 'स्पेन्सर' का लागि नोमिनेट गरिएको छ ।
इन्टरनेसनल फिचर फिल्म
यो विधामा जापानी फिल्म 'ड्राइभ माइ कार' ले आफ्नो नाम लेखाउन सक्छ । यो श्रेणीमा 'फ्ली', 'द ह्याण्ड अफ गड', 'लुनानास् ए याक इन द क्लासरूम', 'द वर्स्ट पर्सन इन द क्लासरूम' लाई नोमिनेट गरिएको छ ।
डकुमेन्ट्री (सर्ट)
यो क्याटेगोरीमा पाँच फिल्मबीच कडा टक्कर छ । 'अडिबल', 'लिड मी होम', 'द क्विन अफ बास्केटबल', 'थ्री सङ फोर बेनाजिर', 'व्हेन वि आर बुलिज' मनोनयनमा परेका छन् । यीमध्ये 'द क्विन अफ बास्केटबल' र 'अडिबल' बीच झन् टक्कर छ । यी दुईमध्ये एकले ओस्कर आफ्नो नाममा पार्न सक्ने अनुमान छ ।
डकुमेन्ट्री फिचर
डकुमेन्ट्री फिचर क्याटेगोरीमा अवार्ड जित्ने दौडमा 'फ्लि' सबैभन्दा अगाडि देखिएको छ । यो श्रेणीमा 'एसेनसन', 'अटिका', 'समर अफ सल', 'राइटिङ विद फायर' लाई पनि मनोनयनमा राखिएको छ । 'फ्ली' लाई तीन क्याटेगोरीका लागि नोमिनेट गरिएको छ ।
बेस्ट सपोर्टिङ एक्ट्रेस
यो क्याटेगोरीमा जेसी बकलेलाई 'द लस्ट डटर', एरियाना देबोसलाई झवेस्ट साइड स्टोरीझ जूडी डेन्चलाई 'बेलफास्ट', कर्स्टन डन्स्टलाई 'द पावर अफ द डग' र आन्जन्यू एलिसलाई 'किङ रिचर्ड' का लागि नोमिनेट गरिएको छ । यीमध्ये एरियाना देबोसले अवार्ड जित्ने सम्भावना बढी देखिन्छ ।
बेस्ट एक्टर सपोर्टिङ रोल
बेस्ट सपोर्टिङ एक्टरको दौडमा कतिपय दिग्गज कलाकारको नाम छ । यीमध्ये सियारन हिन्ड्सलाई 'बेलफास्ट' ट्रय कोत्सुरलाई 'कोडा', जेसी पेलेमन्सलाई 'द पावर अफ द डग', जे.के. सिमन्सलाई 'बिइङ द रिकार्डोस' र कोडी स्मिट-मेकफीलाई 'द पावर अफ द डग' का लागि मनोनयनमा पारिएको छ । यसपल्ट बेस्ट सपोर्टिङ एक्टरको उपाधि कोडी स्मिट मेकफीले जित्न सक्ने चर्चा छ ।
डाइरेक्टर
जेन केम्पियनले यो पालि बेस्ट डाइरेक्टरको अवार्ड पाउन सक्छन् । 'द पावर अफ द डग' उनलाई यो पुरस्कार दिलाउन सक्ने फिल्म हो । यो अवार्डमा अरू पनि सम्भावित नाम छन् । जस्तो कि, केनेथ ब्रानघको 'बेलफास्ट', रयूसुके हमागुचीको 'ड्राइभ माइ कार', पल थोमस एन्डरसनको 'लिकोरिस पिज्जा', जेन केम्पियनको 'द पावर अफ द डग' र स्टिभन स्पिलबर्गको 'वेस्ट साइड स्टोरी' । (बीबीसीबाट)