कञ्चनपुर । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी राष्ट्रिय कमिटीका विद्यार्थीहरूले सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रधानाध्यापक कुम्भबहादुर चन्दको कुर्सी जलाएका छन् ।
विद्यार्थीको पढाइ प्रभावित हुनेगरी कार्यक्रम भएपछि प्रिन्सिपलको कुर्सी जलाइएको अखिल क्रान्तिकारीका विद्यार्थी नेता दीपक भट्टले बताए ।
‘एमाले निकट अनेरास्ववियुले विद्यार्थीको पढाइ प्रभावित हुने गरी डिजे बजाएर कार्यक्रम गरेको थियो,’ उनले भने, ‘त्यस्तो कार्यक्रम रोक्न प्रधानाध्यापकलाई आग्रह गरे पनि कुनै सुनवाइ नभएपछि कुर्सी जलाएका हौँ ।’ एमाले निकट विद्यार्थी संगठनले कार्यक्रम गरेपछि अखिलका विद्यार्थीहरू रुष्ट बनेका थिए । उनीहरूले त्यही झोँकमा कुर्सी जलाएका हुन् ।
अनेरास्ववियुको सोमबार सुदूरपश्चिम विश्वविद्यालय एका कमिटी गठनको कार्यक्रम थियो ।