चैत १६, २०७८ बुधबार

बलिउड अभिनेता सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले उनलाई बलिउडको हार्वी वीनस्टीन भएको आरोप लगाएकी छिन्। साथै उनले सलमानको सत्यता खुलाउने धम्कीसमेत दिएकी छिन्।

पिंक भिलाका अनुसार सलमान विभिन्न समयमा संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय जस्ता अभिनेत्रीसँग प्रेम सम्बन्धमा थिए। उनले ऐश्वर्यालाई कुटपिट गर्ने गरेको पनि खुलासा भएको थियो। हालै उनकी पूर्व प्रेमिका सोमीले पनि यस्तै आरोप लगाएकी हुन्। 

सोमीले ‘मैने प्यार किया’को एक दृश्यको स्क्रिनसट सेयर गर्दै सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बलिउडको हार्वी वीनस्टीन, एक दिन तिम्रो पनि पर्दाफाश हुनेछ। जो महिलाहरूलाई तिमीले दुर्व्यवहार गर्‍यौ, एकदिन उनीहरूले सबै सत्य खुलाउने छन्। जसरी ऐश्वर्या राय बच्चनले बोलिन्, अरू पनि बोल्नेछन्।’

हार्वी वीनस्टीन हलिउडको चर्चित निर्माता हुन्। उनलाई ‘मीटु अभियान’ मार्फत महिलाहरूलाई दुर्व्यवहार गर्ने, कुटपिट गर्ने, यौनशोषण गर्ने आरोप लागेको थियो। उनीविरूद्ध हलिउडका केही चर्चित अभिनेत्रीसहित करिब एक सयबढी महिलाहरूले यौन शोषणको आरोप लगाएका थिए।

त्यसपछि उनलाई अदालतले २३ वर्ष कैदको सजाय सुनाएको थियो।