पिरियड एक्सन ड्रामा जनरामा बनेको तेलुगु फिल्म 'आरआरआर' तेस्रो हप्तामा प्रवेश गरेको छ। एसएस राजामौलीको लेखन तथा निर्देशनमा बनेको फिल्म शुक्रबारदेखि तेस्रो हप्तामा प्रवेश गरेको हो।
'आरआरआरुले २ अर्ब ५० करोडभन्दा बढी कलेक्सन गर्दै भारतीय फिल्म इतिहासमा सबैभन्दा ठूलो ओपनिङ गरेको थियो। पहिलो दिन भारतमा मात्रै १ अर्ब ५० करोडभन्दा बढी कमाइ गर्दै नयाँ कीर्तिमान बनाएको फिल्म तेस्रो हप्तामा आउँदा भने दर्शकको चाप केही हदसम्म घटेको छ।
दुई हप्तामा फिल्मले विश्वभरबाट ९ अर्ब ६० करोडभन्दा माथिको कारोबार गरिसकेको छ। योसँगै ५ अर्ब ५० करोडमा बनेको फिल्म दोस्रो हप्ता सकिँदा सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा पाचौँ नम्बरमा रहेको छ।
शुक्रबार कुनै नयाँ फिल्म प्रदर्शनमा नआउँदा 'आरआरआर' नै सर्वाधिक शोका साथ प्रदर्शन भइरहेको छ। फिल्मले अझै पनि मल्टिप्लेक्समा ८० प्रतिशतसम्मको अकुपेन्सी पाएको छ।
'आरआरआर' बाहेक हलमा हलिउड फिल्म मोर्बियस र बलिउड फिल्म द कश्मिर फाइल्स पनि प्रदर्शनरत छन्। गत हप्तादेखि प्रदर्शनमा आएको मोर्बियस दोस्रो हप्तामा प्रवेश गरेको छ भने बलिउड फिल्म 'द कश्मिरी फाइल्स पाचौँ हप्तामा प्रवेश गरेको छ।
अर्को हप्तादेखि कन्नड फिल्म 'केजिएफ च्याप्टर २' र नेपाली फिल्म 'ए मेरो हजुर ४' एकसाथ प्रदर्शनमा आउँदैछन्। त्यसअघि एक हप्ता भने हलमा 'आरआरआर'कै दबदबा रहने देखिएको छ।