सुदूरपश्चिमको जीवनशैलीमा आधारित उपन्यास ‘छाइल’ प्रकाशित भएको छ । डोट्याली कवि लोकराज भट्टको पहिलो उपन्यास 'छाइल' सरल अनि कलात्मक भाषामा लेखिएको छ। यसमा बाबु र छोराको सम्बन्ध मात्र होइन, समग्र डोट्याली सभ्यताको छायाँ प्रतिविम्बित भएको छ।
प्रकाशकबाट पुस्तक पाएपछि उपन्यासकार भट्ट हौसिएका छन्। उनको यो कृति सुदूरपश्चिमको प्रतिनिधि उपन्यास बन्ने विश्वास गरिएको छ।
डोट्याली भाषाको शब्द ‘छाइल’ को अर्थ हुन्छ–छायाँ। यस उपन्यासमा सुुदूरपश्चिम प्रदेशको डोट्याली सभ्यताका छायाँ र प्रतिछायाँ सलबलाएका छन्। यसमा पूर्खाको संस्कृति, रहनसहन र स्वाभिमानको छाइललाई उजिल्याउने जमर्को गरिएको छ।
बुक्स हिमालयले प्रकाशन गरेको पुस्तक शुक्रबारदेखि बजारमा पुगेको प्रकाशन संस्थाका निर्देशक पवन शाक्यले जानकारी गराएका छन्। ४ सय ५० रुपैयाँ मूल्य पर्ने पुस्तक बुक्स हिमालय डटकममार्फत समेत खरिद गर्न सकिने छ।