चैत ९, २०७७ सोमबार

डा. तारालाल श्रेष्ठ/

पहिचानको प्रष्फुटन
पहिचान सबैलाई प्यारो हुन्छ । पीडकलाई पनि आफ्नो पहिचान प्यारो छ । पीडितलाई पहिचान अझ प्यारो हुन्छ । सुखका भन्दा दुःखका दिन बढी स्मरणीय भएझैंं । सुखान्त भन्दा दुःखान्त कथानकमा बढी ‘कथार्सिस’ रहेझैं । उत्पीडित समुदायलाई पहिचान बढी प्यारो हुन्छ । पीडाबीच बाँचेको प्यारो पहिचान सुन्दर हुन्छ । उत्पीडनको पराकाष्ठा पचाएर पनि अस्तित्वमा रहेका आदिवासी जनजातिको जीवन पद्दति प्राकृतिक छ । उनीहरुको संस्कृति प्रकृति जत्तिकै सुन्दर छन् । उदाहरणहरु एक होइन अनेक छन् । यद्यपि, नेपालमा पहिचान सौन्दर्यलाई अदृश्यकरण गर्न निश्चित समूह अझै सक्रिय छन् । उनीहरु आदिवासी जनजाति पहिचानको सौन्दर्यलाई ‘कुरुपीकरण’ गर्न सफल छन् । यसका पछाडि आधारभूत तीन कारण छन् । 

पहिलो कुरा, ‘पहिचान’ शब्द सुन्ने वित्तिकै पिनास हुने जमात छन् । बाहुनवादलाई शिरमा र राष्ट्रवादलाई काँधमा बोकेका उनीहरु वर्चश्वशील छन् । मिडिया, बौद्धिक समाज, प्राज्ञिक, राजनीतिक, प्रशासनिक सबै तहतप्कामा उनीहरुको पहुँच छ । उनीहरु ‘पहिचान’लाई ‘अराजक’ आदिवासी जनजाति आन्दोलनको पर्यायवाची मान्छन् । यदि वैकल्पिक पहिचान सौन्दर्य स्थापित गराइयो भने बाहुनवादी वर्चश्व बच्नेवाला छैन । पहिचान जस्तो सुन्दर शब्दलाई सहजै ‘कुरुप’ देखाइदिन्छन् । पहिचान विम्व विखण्डनकारी अराष्ट्रिय तत्वको रुपमा उभ्याइदिन्छन् । मूलधारीय मीडिया, प्राज्ञिक तथा बौद्धिक बजार सबैतिर पहिचानको विम्व डरलाग्दो देखाइदिए पछि भीडले स्वीकार्छ । दोस्रो, पीडक वर्ग समूहले आफ्नो जातीय पहिचानलाई भने रणनैतिक ढङ्गले वढावा दिइरहेको देखिन्छ । उनीहरुमा दृष्टिदोष होइन, ‘रणनीतिक होस’ छ ।  आदिवासी जनजाति अभियन्ता रणनैतिक ढङ्गले आफ्नो सौन्दर्यलाई स्थापित गर्ने अभियानमा बारम्बार चुकेका छन् । आक्रोश रणनैतिक ढङ्गले प्रस्तुत गर्न नसक्दा आत्मघाती कदममा परिणत हुन सक्छ । तेस्रो, सबैभन्दा महत्वपूर्ण विषय भनेको आदिवासी जनजातिको पहिचान सौन्दर्यमाथि हमला भइरहँदा बौद्धिक हस्तक्षेपमा कमि । यद्यपि, अहिले पहिचान सौन्दर्यको पक्षधर बौद्धिक बढ्दो छ ।

एउटा उदाहरण, २०७७ सालको अङ्ग्रेजी एम. फिल. दोस्रो सेमेस्टर कक्षामा मेरा सहकर्मी प्राध्यापक मित्रले निर्धक्क बोलिदिए, ‘पहिचानको राजनीतिले प्रजातन्त्रलाई कमजोर पार्छ ।’ आसय उही थियो, पहिचानवादी जनजाति ‘देशद्रोही’, ‘विखण्डनकारी’, ‘अराष्ट्रवादी’ । सबाल्टर्न र प्रतिरोध साहित्य अध्ययनरत विद्यार्थी न परे । एक विद्यार्थीले प्रतिवाद गरिहाले । उनले भने, ‘पहिचान आन्दोलनले प्रजातन्त्र कमजोर होइन वास्तवमा बलियो बनाउछ ।’ विद्यालय, विश्वविद्यालय, अनुसन्धान केन्द्र, मूलधार मीडिया र बौद्धिक समाजसम्म आदिवासी जनजाति पहिचान सौन्दर्य पस्न पाएन, फैलन पाएन । बौद्धिक विमर्शमार्फत माझिन र टल्कनै पाएन । बौद्धिक जगत पनि लामो समयदेखि बाहुनवादकै कब्जामा छ । 
यस्तो गम्भीर विषयमा बोल्न पनि पहिचानबोध आवश्यक हुन्छ । यस कार्यपत्र पहिचान सौन्दर्य, यसको सैद्धान्तीकरण र प्राज्ञिकीकरणका प्रारम्भिक आधारमा केन्द्रित छ । आदिवासी जनजातिका सौन्दर्य मानकका प्रारम्भिक विषयवस्तुबारे चर्चा गर्ने क्रममा आदिवासी अगुवा तथा बौद्धिक जगतको स्वाधीनताका विषयलाई पनि उत्तिकै प्राथमिकताका साथ विमर्श गर्ने प्रयत्न गरिएको छ । अन्तमा सबाल्टर्न अध्ययनको दृष्ट्रिकोणबाट आदिवासी जनजाति पहिचान सौन्दर्यलाई सामूहिक बौद्धिक हस्तक्षेपको सौन्दर्यसँग जोड्नुपर्ने विषयलाई औल्याइएको छ ।     
 
पहिचान आन्दोलनको औचित्य

वर्णाश्रम दमनकारी व्यवस्थाको पराकाष्ठ बन्यो । बाहुनवाद हावी रहँदा आम समुदायलाई ‘कनिष्ठ’ रैतीमा रुपान्तर गर्न राज्यसत्ताको दुरुपयोग भयो । पहिल्यैदेखि आदिवासी जनजाति ‘जङ्गली’ ‘स्वाँठ’ कहल्याइए ।  मुलुकी ऐन (१९१०) जारी गर्दा आदिवासी जनजातिलाई ‘मासिने जात’का रुपमा ‘तल्लो’ दर्जाका नागरिक बनाइयो । पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गर्ने क्रममा ‘असली हिन्दुस्तान’ बनाउने नीति’ अपनाए । जनजातिका आधारभूत मुद्दालाई राज्यको बुनोटमा समेटेर होइन कि ‘हिन्दु अधिराज्य’मा उपयोग गरेर  आफ्ना बाहेक अन्यजनलाई किनारा लगाउने रणनीति थियो, असली हिन्दुस्तान नीति ।  हिन्दुहरुको जात विभाजनको प्रभाव सर्वप्रथम काठमाडौं उपत्यकामा परेको देखिन्छ । जयस्थिति मल्लले मैथिल र पर्वते बाहुनको मद्दत लिई नेवार समाजलाई ६४ जातमा विभाजन गरे । रामशाहले यसैको सिको गरे । कर्णाली र गण्डकी प्रदेशबाट पूर्वफैलिँदै किराँतीहरुसम्म वर्णव्यवस्था फैलियो ।  आदिवासी जनजातिका लागि यो सहनयोग्य थिएन ।  आदिवासी जनजातिका सुन्दर सांस्कृतिक पहिचानलाई कुरुप दर्ज गराउन कम्मर कसेर लागि परिरहेका जमात अहिले पनि हाम्रै वरिपरि छन् । कतै तिनैलाई हामीहरुले ‘मेन्टर’ मानेर पूजा गरिरहेका त छैनौं ? पराधीन सबाल्टर्न समुदाय प्रायः आत्मघात गरिरहेका हुन्छन् । आदिवासी जनजातिका स्थापित संघसंस्था, घटक, भातृसङ्गठन, सञ्जालको भूमिका माथि पनि गम्भीर समीक्षाको खाँचो छ ।  

पहिचान आन्दोलन जनजातिकै लागि सर्वस्वीकार्य छैन । पहिचान आन्दोलन ‘समस्यामूलक’ देखिन सक्छ । यद्यपि, गायत्री स्पिभाकले औल्याएझैं, पहिचान आन्दोलनलाई रणनीतिक अपरिहार्यताका रुपमा उभ्याउनुको विकल्प छैन । पहिचान आन्दोलन त्याग्दा जनजाति सौन्दर्यमै असर पर्न सक्छ । अन्ततः पहिचानकै कारण उनीहरु बहिस्कृत भएका छन् । पहिचान सौन्दर्य नै आफ्नो अधिकार स्थापित गर्ने उचित र उपयुक्त अस्त्र हो । आजको ‘उत्तरआधुनिक’ वैज्ञानिक युगमा पनि जातीय कुरा गर्ने हो ? भनेर उल्लीविल्ली लगाउलान् । यद्यपि जातीय पहिचानकै कुरा गर्ने हो । स्पिभाकले भनेझैं, उत्पीडित जनजातिको सामूहिक अधिकार स्थापित गर्ने ‘रणनीतिक अपरिहार्यता’को अस्त्र पहिचानको आन्दोलन नै हो । सबाल्टर्न वर्गसमुदाय  दह्रो गरि उभिने अपरिहार्य आधार यहि हो ।  पहिचान सौन्दर्यको जतिसक्दो साहित्यिक, सांस्कृतिक र कलात्मक प्रस्फुटन नै आदिवासी स्थापित बन्ने आधार हुन् । पहिचान आदिवासी जनजातिको साझा भूमि, भाषा, संस्कृति र साझा मनोज्ञिानसँग जोडिएको हुन्छ । पहिचान चाहे शास्वत होस् या निर्मित, यो सामाजिक यथार्थ हो ।  आदिवासी जनजातिका पहिचान सामूहिकतामा आधारित छ । यसर्थ आदिवासी जनजातिको पहिचान सौन्दर्य सम्मुन्नत छ । प्राकृतिसँग लयवद्ध छ । समयसान्दर्भिक छ । यसर्थ आदिवासी पहिचान सौन्दर्य पुनःस्थापित बन्दै छ । 

पहिचान आन्दोलनको औचित्य थियो, अझै छ र रहिरहने छ । विविधतापूर्ण राज्यको एकलकाँटे चरित्र  तोड्ने अस्त्र पहिचान आन्दोलन नै हो । यसर्थ आदिवासी जनजाति सङ्गठित अनि आन्दोलित छन् । यो आन्दोलन राज्यसत्ताले सुनियोजित किसिमले सञ्चालन गरेको विभेदपूर्ण उत्पीडनको गर्भबाट जन्मिएको हो । आन्दोलन ऐतिहासिकतासँग जोडिएर उठेको छ । यो मनुस्मृतिको जगमा उभिएको मुलुकी ऐन (१९१०) विरुद्धको आन्दोलन हो । अवधुत सिंह मल्लले भन्दा अघिदेखि भएका विद्रोह अनि लिम्बुवान विद्रोह (१७७०), तामाङ विद्रोह (१७९०) जस्ता इतिहास हेर्दा पनि गोर्खा राज्य विस्तार (१७६८) को अन्त्यसँगै नेपाली आदिवासी जनजाति आन्दोलनको शुरुवात भएको देखिन्छ ।  कूल जनसंख्याको ३७ प्रतिशतभन्दा बढी  (हाल ३५.३ प्रतिशत) आदिवासी जनजाति उत्पीडनको उकुसमुकुसमा थिए ।  आदिवासी जनजाति जोड्ने साझा सङ्गठनको खाँचो बोधमा विभिन्न संघसंस्थाहरु अस्तित्वमा आए । आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठन भए । राजनीतिक दलहरुले आदिवासी जनजातिहरुका भातृ सङ्गठनहरु निर्माण गरे । हाल ५६ आदिवासी जनजाति समुदायहरुले जातीय सङ्गठन र साङ्गठनिक सञ्जाल तथा कतिपयले अन्तर्राष्ट्रिय स्तरमै सङ्गठन बनाइसकेका छन् । 

नेपाली आदिवासी जनजाति सङ्गठित आन्दोलनले अनेक उथलपुथल खेपिसकेको छ । १० वर्षे सशस्त्र युद्ध, दोस्रो जनआन्दोलन, राजतन्त्रको अवसान, मधेस विद्रोह, उत्पीडित समुदायको पहिचानजनित अनेक आन्दोलन खेपिसकेको छ । नेपालको आदिवासी जनजातिको प्रमुख मुद्दा भनेको पहिचानको सम्मान नै हो । यससँग सामुहिक अधिकार, समानुपातिक प्रतिनिधित्व, बहुभाषिक नीति, स्वायत्तता, स्वशासन सहितको संङ्घीयता कार्यान्वयन मुद्दा जोडिने नै भयो । पहिचानको आधारलाई संघीयताले समेटेन । पूर्ण समानुपातिक व्यवस्था पूर्णतः लागू भएको छैन । भएको समानुपातिक समावेशी प्रणालीलाई पनि भ्रष्ट्रीकरण गरिएको छ ।  दोस्रो संविधानसभाबाट जारी संविधान पनि विभेदकारी रहेको ठहर आदिवासी जनजाति आन्दोलनको हो ।  आदिवासी जनजातिको पहिचान आन्दोलन जारी छ, जारी रहनु पर्दछ भन्ने आम अभियन्ताको राय छ । आन्दोलनले स्थापित गरेका मूलभूत सवाल लामो सङ्घर्ष सम्पन्न गरिसक्दा पनि अधुरै किन रह्यो ? आन्दोलनमाथि लाञ्छना, पराधिनताको प्रश्न, सहवरणको आरोपबाट नेतृत्व किन मुक्त छैनन् ? गम्भीर समीक्षा गर्नुपर्ने अवस्था छ । आदिवासी जनजातिसँग प्रत्येक्ष सरोकार राख्ने संघसंस्थाका सवल र सुधार्नुपर्ने पक्ष अवश्य छन् । यसका सहयात्री परम्परागत संस्था, सङ्गठन, मोर्चा, घटक, गैसस, प्राज्ञिक, बौद्धिक र पेशागत अभियन्ताले अवको स्पष्ट बाटो तय गर्नै पर्दछ ।  आदिवासी जनजाति लेखक महासंघको प्राथमिकतामा पर्नुपर्ने अवको गहन बौद्धिक कर्म भनेको पहिचान सौन्दर्यलाई प्राज्ञिक तहमा स्थापित गर्नु हो ।       
पहिचान अभियानको प्राज्ञीकरण

नेपाली आदिवासी जनजाति आन्दोलन प्राज्ञिक रुपमा राम्ररी राष्ट्रियकरण भएको छैन । हाम्रो विद्यालय, विश्वविद्यालय, अनुसन्धान केन्द्र, बौद्धिक बहसमा आदिवासी जनजातिका सौन्दर्यले ससम्मान ‘स्पेस’ पाएको छैन । ‘जनजाति’ शब्दले प्राज्ञिक ठूलो जमातलाई पिनास गराउँछ । हामीले हाम्रो विद्यालय र विश्वविद्यालयमा आदिवासी जनजातिका मुलभूत मुद्दालाई समेटेर पाठ्यक्रम बनाउने र अध्यापन गराउनै बाँकी छ । आदिवासी विभागकै आवश्यकता अपरिहार्य भइसक्दा नेपाली विश्वविद्यालय यसबारे बेखबर छ । अङ्ग्रेजी एमफिल शिक्षाशास्त्रमा ‘इन्डिजिनस एजुकेशन’ शीर्षकको एउटा विषय अध्यापन गरिएको देखिन्छ । आदिवासी जनजातिका परम्परागत ज्ञानका विषयलाई यसले जोड दिएको देखिन्छ । मानवशास्त्र, समाजशास्त्र, संस्कृति, इतिहास, अङ्ग्रेजी तथा नेपाली साहित्य लगायत विभागहरुमा आदिवासी जनजाति अध्ययन अध्यापन भएको छैन । डा.कृष्ण भट्टचनलाई ‘तपाई पूरा जीवन समाजशास्त्र मानवशास्त्र विभागमा प्राध्यापन गरी विताउनुभयो, एउटा पाठ्यक्रमसम्म आदिवासी जनजाति अध्ययनलाई जोडेर किन निर्माण गर्नुभएन ?’ भनेर सोध्दा उत्तर मार्मिक आयो । उनको उत्तर थियो, ‘तपाई पनि त्रिवि भित्रै हुनुहुन्छ, आफै बनाएर देखाउनुस् त !’ उनले थपे, ‘एक त तपाईले बनाउनै सक्नुहुन्न, यदि बनाइहाले तपाईको जागिर जान बेर छैन !’ पाठ्यक्रम निर्माण गर्ने क्रममा विषय तथा प्राज्ञिक समितिले आदिवासी जनजाति अध्ययनलाई स्वीकार गर्ने वातावरण बनिनसकेको भट्टचन बताउछन् ।   

आदिवासी जनजाति पहिचान सौन्दर्य इतिहास मानव सभ्यतासँगै जोडिएर यहाँसम्म आइपुगेको छ । लिखितमा कमै होला लौं, वाचितमा त अनन्त भवसागर सौन्दर्य छन् । आहुतिले औल्याएझैं, प्रत्येक नेपाली आदिवासी जनजातिसँग आफ्ना अलग दर्शनशास्त्र, अर्थशास्त्र र राजनीतिक प्रणाली जस्ता अति आधारभूत तीन वटै कुरा जीवित छन् ।  उनीहरुसँग आफ्नै भाषा, कला र संस्कारले सुसज्जित संस्कृति छन् । ती भित्र सुसाइरहेको मूर्त तथा अमूर्त सौन्दर्य कति होला ? महाआख्यान निर्माताका विभेदी मानकबाट बहिष्कृत महागाथा धेरै छन् । मानक बाहिरका सौन्दर्यशास्त्र नेपाली विद्यालय र विश्वविद्यालयभित्र ससम्मान पसेर पाठ्यक्रमरुपी बौद्धिक सोकेसमा सजिएर नबसेसम्म आदिवासी जनजाति आन्दोलन गन्तव्यमा पुग्नेवाला छैन । आदिवासी जनजाति महासंघका कुन पदाधिकारीले कति विदेश भ्रमण गरे, कति वैदेशिक सहायता हात पारे, कुन आदिवासी अभियन्ताले कस्ता कार चढे, कसले कस्ता घरजग्गा जोडे, कसको एनजिओ कति बलिया जस्ता उपलब्धिको कुनै तुक हुन्न । 
पहिचान सौन्दर्यको परिकल्पना
हामी एउटा परिकल्पना गरौं, हाम्रा विद्यालय, विश्वविद्यालय, अनुसन्धान केन्द्रहरु, बौद्धिक बजार जताततै आदिवासी जनजातिदेखि गैर जनजाति सबै उत्तिकै हैसियतमा उभिएका छन् । प्राथमिक तहदेखि नै पाठ्यक्रममै सजिएर सबै जातजातिका पहिचान सौन्दर्यबारे पठनपाठन, बहस, छलफल भइरहेका छन् । पृथ्वीनारायण शाहभन्दा अघि र पछिको नेपाल सचित्र हेर्दैछौं, पूर्वाग्रहभन्दा पर । अधिकांश आदिवासी जनजातिका पनि अलग्गै राष्ट्र र राष्ट्रियता थिए । तिनका, भाषा, साहित्य, दर्शन, कला, अर्थव्यवस्था, राजनीतिक प्रणाली थिए । थारुहरु हिजो कस्ता थिए, जसको आफ्नै राज्य थियो । थारुहरु आज कस्ता छन्, जसको पहिचान नै संकटमा छ । थारुहरु नै एउटा नमुना काफी छ, नेपाली आदिवासी जनजाति सौन्दर्य कति धेरै धनी छ । टिकापुर घटनापछि एकाएक थारुहरुलाई अपराधिकरण गर्ने क्रम बढ्यो । विश्वविद्यालय परिसरमै थारुहरु ‘हिंस्रक’ समुदायका रुपमा सामान्यीकरण हुँदै गरेको आभाष भयो, अनौपचारिक गफगाफमार्फत पनि । मीडियामा थारुहरु ‘डरलाग्दा’ प्राणीझैं छाइरहेका बेला पश्चिम नेपालका सबै जिल्ला घुम्न निस्किएँ । स्वलगानीमा चितवनदेखि, दाङ, बाँके, बर्दिया, कैलाली कन्चनपुरसम्म कुनाकाप्चा जतिसक्दो घुमेँ । त्यसपछि पूर्व तराइका थारुहरुका बस्ती पनि चहारँे । उद्देश्य थियो, थारुहरुबारे नजिकबाट बुझ्नु । थारुहरु मेरा लागि नौलो आदिवासी जनजाति समुदाय थिए । अहिले मेरा लागि थारुहरु सबैभन्दा निकटतम समुदाय हुन् भन्ने लाग्छ । के छैन थारुहरुसँग, उनीहरु सबै किसिमका सौन्दर्यले सुसज्जित रहेछन् । उनीहरुको खानापिन, आदर सत्कार, पारिवारिक तथा सामाजिक व्यवस्था, आर्थिक प्रणाली, राजनीतिक व्यवस्था, मूर्तअमूर्त कला संस्कृतिको प्रचुरता देखेर चकित भएँ । हिन्दुकरणको सत्तात्मक पेलान हुँदहुँदै पनि अनादि यस्ता सौन्दर्य विलीन चाँहि नभएको  देख्दा गर्व महशुस भयो । थारु समुदायको सौन्दर्यशास्त्र एउटै काफी छ हामीलाई विश्व जगतसम्म प्राज्ञिक शासनका साथ प्रस्तुत हुन ।

आज त यति सम्पन्न छ भने हिजो थारुहरुको सभ्यता अझ कति प्रतिष्ठित थियो, सहजै अनुमान लगाउन सकिन्छ । आफै थारुहरुको बस्तीबस्ती बास बस्दै हिँड्दा बोध भयो, हामी भ्रममै बाँचेर भ्रममै मर्दैछौं । प्राज्ञिक संस्थाहरुलाई पनि ‘डिकलोनाइज’ नगरी हुन्न भन्ने पनि बोध भयो । थारुहरुलाईझैं ‘असभ्य÷बर्बर’ देखाउनेहरु कति सभ्य छन्, इतिहास हेर्दा छर्लङ्गै हुन्छ । के गोर्खा राज्य अन्र्तगत शाह सभ्यता थारुवान सभ्यताझैं सौन्दर्यले एकीकरणभन्दा अघि धनी थियो ? अन्य आदिवासी जनजातिको पहिचान सौन्दर्य पनि उत्तिकै प्रचुरताका साथ बाँचेका छन् । सन् १८४६ को कोतपर्व अघि र पछि कसको सभ्यतालाई दबाइयो र कसलाई कसरी फैलाइयो प्रष्टै छ । सन् १८५४ मा मुलुकी ऐन जारी हुनु अघि र पछि, सन् १९३२ मा गोर्खाली खस नेपाली भाषालाई अनिवार्य सरकारी कामकाजको भाषा बनाइनु अघि र पछि, सन् १९७९–८० को जनमत संग्रहपछि आदिवासी जनजातिको अवस्थामा कति उथलपुथल आयो, डोरबहादुर विष्ट जस्ता स्रष्टाहरुका कलाकृति  छापिनु अघि र पछिको परिवर्तित अवस्था जस्ता गम्भीर विषयमा लेखाजोखा र बहस विश्वविद्यालयमा हुनु पर्दछ । बृहत् नेपालको निर्माण सद्भावबाट होइन तरबार र खुकुरीको बलबाट भएको हो ।  यति हुँदाहुँदै पनि यति सघन रुपमा जातीय पहिचान सौन्दर्य बाँचिरहेका छन्, यसलाई उत्सवमयी किसिमले प्राज्ञिक संसारमा किन नसजाउने ? सन् १९९१ को संविधान, त्यहि साल स्थापित जनजाति महासंघ, सन् १९९३ मा विश्व आदिवासी वर्ष घोषणा, सन् २००२ मा जनजाति प्रतिष्ठानको स्थापना र सन् १९९६ देखि २००६ र त्यसपछिका उथलपुथलकारी राजनीतिले पहिचान सौन्दर्यमा पारेको प्रभावबारे औपचारिक रुपमै विश्वविद्यालयमा व्यापक बहस किन नगर्ने ?  
नेपाल आदिवासी जनजाति सौन्दर्यको जीवित सङ्ग्रहालय हो । विश्वकै लागि नेपाल विविध पहिचान सौन्दर्यको नमुना मुलुकका रुपमा स्थापित बन्न सक्छ, असली हिन्दु अधिराज्य होइन । न कुनै मुस्लिम, क्रिश्चियन, बौद्ध वा अन्य धार्मिक अधिराज्य अव निर्माण आवश्यक छ । धर्मनिरपेक्षता आदिवासी जनजाति आन्दोलनको माग हो । राज्यको धर्म हुनुहुन्न । व्यक्ति वा समुदाय विशेषको आस्थालाई भने बहुमत वा अल्पमत नभनि समान हैसियतमा सम्मान गर्नुपर्छ । केहि किलोमिटरको दूरीमा भेटिने भिन्न कुनै पनि समुदायको घरमा जानुस्, ‘टाउको दुख्यो’ भन्यो भने केही न केही विशिष्ट औषधी बनाइदिन्छन् । प्रत्येक जातिभित्र वैज्ञानिक कुरा छन्, रुढीवादी कुरा पनि छन् । कतिलाई बचाउने, कतिलाई सच्याउने निक्र्यौल गर्नुपर्छ ।  यी सवाल र सौन्दर्य सभ्यतासँग जोडिएका हुन्छन् । हरेक नेपाली समुदायसँग अलग संस्कृति छ । तिनका सभ्यताले विश्व दृष्टिकोण बोकेको छ । तिनका अलग दर्शन छन् । उनीहरुको जीवनशैली र विशिष्टतम् संस्कृतिभित्र विविध सौन्दर्यको खोज अवको आवश्यकता हो । जसले विश्वजगतसम्म नेपाली आदिवासी पहिचान सौन्दर्यलाई प्राज्ञिक ढङ्गले फैलाउन मद्दत गर्छ ।  

आदिवासी जनजातिको सौन्दर्य खोज र सौन्दर्यबोध पछिल्ला दुई दशकयता एउटा अन्तर्राष्ट्रिय अभियानका रुपमा अघि बढिसकेको छ । हाल विश्वका ९० मुलुकहरुमा ७ हजार भाषाहरुसहित फैलिएर रहेका ३ सय ७० मिलियन आदिवासी जनजाति आन्दोलित छन् ।  विश्व परिवेशमा आफ्ना ओजपूर्ण मागसहित आन्दोलनमा उभिएकाले उनीहरुको आवाज विश्वभर गुन्जयमान भएको छ । विश्वदृष्टिमा उनीहरुको अस्तित्व सघन बन्दै गइरहेको परिवेशमा उनीहरुको पहिचानको आन्दोलन राजनीतिक आन्दोलनमा रुपान्तरित भएको छ । विश्वका नामुद स्रष्टाहरु आदिवासी जनजाति आन्दोलनसँग जोडिएर पहिचान सौन्दर्यलाई ‘सेलिब्रेट’ गर्दै आफ्नो लेखकीय अग्रगामी धर्म निर्वाह गरेका छन् । डु बोइज, फ्रान्ज फ्यानन, वेल हुक्स, एडवर्ड सइददेखि समकालीन आदिवासी जनजाति समुदायका अनगिन्ती लेखक एन स्कोट मोमाडे, लेस्ली मर्मोन सिल्को, आदिवासी जनजाति अनगिन्ती लेखक, अभियन्ता, बौद्धिक विश्लेषकसम्म उक्त अभियानमा जोडिएका छन् ।  नोम चोम्स्की  लगायत गोरा विश्लेषकहरु नै अव इतिहासमा ‘असभ्य’ पहिचान बोकाइएका आदिवासी जनजातिहरु कथित ‘सभ्य’हरुलाई विश्व पर्यावरणको असरबाट बचाउने सबैभन्दा भरपर्दो अभिभावक दावी गर्दैछन् ।  हाम्रो विद्यालय र विश्वविद्यालयका अभिभावक कोही बेखबर छन् । कोही बुझेर पनि बुझ पचाइहरेका छन् । उपनिवेशवादमाझैं वाहुनवादमा अन्य कसैको पहिचान सौन्दर्यलाई समामान्तर सम्मानित हुने छुट नै छैन । वाहुनवादमा वर्णरुपी विषादिको मात्रा यतिधेरै छ कि, कोही उभिन र माथि उक्लिनै सक्दैन । डोरबहादुर विष्टले औल्याएझैं वाहुनवादी भाग्यवाद त्याग्नुमै नेपाली जनको भलाइ छ ।  आदिवासी जनजाति पहिचान सौन्दर्यमा रम्दै बाँच्नुमै नेपालीपनको दीर्घायु अस्तित्व देखिन्छ ।        

आदिवासी जनजाति सौन्दर्यशास्त्र
अन्ततः विश्व जनसंख्याको ६ प्रतिशत आदिवासी जनजातिले विश्वको बाँकी बसेको ८० प्रतिशत पर्यावरण संरक्षणमा योगदान गर्दै आएको तथ्य बाहिरिएको छ । प्रकृतिसँग कसरी व्यवहार गर्ने र प्राकृतिक जीवन बाँच्ने भन्ने विषय ज्ञानको विज्ञ आदिवासी जनजाति नै हुन् । आदिवासी जनजाति पहिचान सौन्दर्य सानो ऐच्छिक विषय होइन । यो वृहत् विषय हो । यो लघुताभाषको विषय हुँदै होइन । यो मौलिक पहिचान सौन्दर्यलाई प्राज्ञिक ढंगले अन्तर्राष्ट्रियकरण गर्ने विषय हो । यो प्राज्ञिक संस्थाहरुको समेत ‘डिकलोनाइज’ गर्ने अभियान हो । विश्वजनसंख्यामा ६ प्रतिशत, नेपालको कूल जनसंख्याको भने ४० प्रतिशत आदिवासी जनजाति रहेको अभियन्ताहरुको दावी छ । यदि नेपाली विद्यालय÷विश्वविद्यालयमा आदिवासी जनजाति पहिचान सौन्दर्य अध्ययन एउटा मूल विषयको रुपमा स्थापित भए कसको के विग्रन्छ ? हामीले बहुभाषिक, बहुसांस्कृतिक, बहुआयामिक नेपालको विविध जीवन दर्शन विश्वलाई देखाइदिन्छौं । हाम्रो कला, साहित्य, संस्कृति, इतिहास, मानवशास्त्र, समाजशास्त्र, राजनीतिक आदि ज्ञानको धरातल आफ्नै आधारशिलाबाट फैलाउन सक्छौं । विश्वजगतसम्म हाम्रा मौलिक विषयवस्तु पु¥याउन सक्छौं । विश्व उपनिवेशवाद अयन अध्यापन गराउँदा आफ्नै इतिहास र संस्कृतिसँग गाँसिएका आन्तरिक उपनिवेशवादसँगको अन्तरसम्बन्ध केलाउन सक्छौं । अहिलेको हाम्रा विद्यमान सामाजिक मुद्दाहरुलाई बौद्धिक बहससँग जोडेर हैकमका अनगिन्ती अवशेषहरु केलाउन सक्छौं । हाम्रो इतिहासलाई हाम्रो भूमि, सांस्कृतिक अधिकार, सामाजिक न्यायसँग जोड्ने क्रममा विश्व समुदायसम्म हामी जोडिन सक्छौं, सहजै । हाम्रा हजारौं वर्षदेखि अस्तित्वमा रहेका ज्ञानलाई गर्वका साथ विश्वकै सबैभन्दा प्राचिन विचार वा विश्वास पद्दतिका रुपमा विश्वसमुदायसम्म फैलाउन सक्नेछौं । नेपालमा पश्चिमा अनगिन्ती वादहरुका चर्चा भइरहदा नेपाली आदिवासी जनजातिका दर्शनशास्त्रबाट मौलिक विचार खोजी गर्न सकिएला । पश्चिमा औपनिवेशिक वैचारिकीको बोझबाट मुक्त हुन सकिएला । अन्ततः आदिवासी जनजातिसँग आफ्नै मौलिक इतिहास छन् । अन्य समुदायसँग सहभागी भएर चरणवद्ध सहवरण गरेको इतिहास पनि लामै छ । इतिहासको विभिन्न कालखण्डमा आदिवासी जनजातिले अन्वेषक, अनुसन्धनकर्ता, धर्मप्रचारक, आप्रवासी, औपनिवेशिक शासक आदिसँग उठबस, युद्ध, विद्रोह, सन्धीसम्झौता गरेका छन् । आफ्ना मौलिक पहिचान परिवर्तन गर्न बाध्य बनेका छन् । यसर्थ अवको आदिवासी जनजाति पहिचान सौन्दर्य अध्ययन विशेषतः बहुआयामिक तथा बहुसांस्कृतिक स्वरुपको हुनेछ ।  

आदिवासी सौन्दर्यबोध पश्चिमा सौन्दर्यशास्त्र भन्दा भिन्न हुने नै भयो । पश्चिमा गोरा साम्राज्यले निर्माण गरेको संस्कृति र आदिवासीको संस्कृति अलग भएपछि उही दृष्ट्रिकोणले आदिवासी सौन्दर्यबोध सम्भव हुन्न । पश्चिमा आधुनिक कलासौन्दर्यबाट सुसज्जित व्यक्तिले आदिवासी जनजातिका मौलिक सौन्दर्य कलाबोध गर्न सक्दैनन् । यो यति धेरै भिन्न हुन्छ कि तिनले आदिवासी जनजातिको सौन्दर्यबोधलाई स्वीकार्नै सक्दैन । पश्चिमा आधुनिक सौन्दर्यचेतबाट आदिवासी सौन्दर्यबोध गर्न खोज्नु नै गलत पहल भएकाले अध्ययनवीधिमै ठूलो समस्या उत्पन्न हुन सक्छ । यसर्थ समकालीन आधुनिक अध्यता आदिवासी जनजातिको सौन्दर्यबोधमा चुक्ने गर्छन् । आधुनिक कलाका सिद्धान्तले आदिवासी जनजातिको सौन्दर्यचेतलाई नै नजरअन्दाज गर्दै आयो । यसले आदिवासी जनजातिका कलासौन्दर्यलाई कहिल्यै स्वीकार गरेन । आदिवासी जनजातिका कलासौन्दर्यलाई पुरातन, प्राचीन, अविकसित आदि शब्दमै सीमित तुल्याइदियो । समकालीन पश्चिमा विचारमा सामान्यत कला भन्नाले भौतिक, धार्मिक, राजनैतिक, कानूनी तथा अन्य सामाजिक सम्बन्धभन्दा परको निरपेक्ष आधुनिक चीज वा वस्तु हो । हरदैनिकीको सम्बन्ध भन्दा पर अलग्गै अस्तित्व बोकेको वस्तुका रुपमा पश्चिमी वैचारिकीले कलासाहित्यलाई परिभाषित गर्दछ । कला निर्माणकर्ता वा स्रष्टालाई असाधारण व्यक्तिका रुपमा लिइन्छ । कसैको कलाकृतिलाई स्थायी कालजयी चीजका रुपमा उभ्याइन्छ । सामूहिक विश्वाससँग कलाकृतिलाई जोडिन्न । भलै अहिले यस मान्यतामाथि व्यापक प्रश्न उठाइए तापनि यस वैचारिकीको हैकम यथावतै छ । यी सब मान्यता आदिवासी जनजाति सौन्दर्यचेतसँग मेल खादैन । ती आदिवासी जनजाति पाहिचान सौन्दर्यबोध मैत्री चेतना होइनन् । ती त आदिवासी जनजाति सौन्दर्यचेतमारा मानक हुन् । आन्तरिक औपनिवेशिक मानकले साम्राज्यवादीकै सिको गरेको छ । 
आदिवासी जनजातिका लागि कलाकृति भनेको सामूहिक हितसँग जोडिएका हुन्छन् । आदिवासीका सौन्दर्यभित्र कलाका लागि अत्यावश्यक चेत, शैली, विषयवस्तु, सन्दर्भ, स्वरुप तथा निजत्व सबै वृहत्तम हितसँग जोडिएको हुन्छ । कलाकृति सधैं सामूहिकता मैत्री, सामुदायिक चेतनावृद्धिसँग केन्द्रित हुन्छ । यदि समाजसँग जोडिएको छैन भने त्यो कलाकृति आदिवासी जनजातिका लागि सुन्दर बन्न सक्दैन । पवित्र आध्यात्मिक चेत पनि हर दैनिकीसँग जोडिएको हुन्छ, आदिवासी जनजाति सौन्दर्यमा । कुनै पनि कलाकृति सुन्दर हुनका लागि सामाजिक सामूहिक उपादेयिता हुनु प¥यो तब न सुन्दर हुन्छ । स्रष्टा पनि सामुदायिक भावना र सामाजिक व्यवहारबाट विमुख बन्न सक्दैन । आधुनिक पश्चिमा मानकमा स्रष्टा व्यक्ति विशेष अर्थमानव हो । जति बढी बजारमुखी व्यक्तिवादी उति बढी उसको पहिचान स्थापित बन्छ, उपभोक्तावादी बजारमा । यस्ता पश्चिमा दृष्ट्रिकोणबाट आदिवासी जनजाति पहिचान सौन्दर्य देखिँदैन । आदिवासी जनजाति उनीहरुका लागि कलासौन्दर्य विहीन प्राणीहरु हुन् । आदिवासी जनजातिका संस्कृतिभित्र अवस्थित कलासौन्दर्यलाई उनीहरु केवल क्षणिक मनोरञ्जनका जात्रामात्रा, परम्परा, संस्कारमै सीमित राखिदिन्छन् । या त तिनले आदिवासी जनजातिका कलासौन्दर्यलाई ‘कमजोर’, ‘आदिम’ वा ‘अविकसित’ मान्छन्, वा आधुनिक कलासौन्दर्यका रुपमा स्वीकार्दैनन् । यस्ता स्थापित कलासौन्दर्यको परिभाषा वा मानक नै परिवर्तन र परिस्किृत गर्न निरन्तर आन्दोलनको खाँचो सधैं रहन्छ । यस्ता मानक निर्माता (बहुराष्ट्रिय कम्पनी)लाई नै ‘डिकलोनाइज’ गर्नका लागि लरोतरो आन्दोलनले काम दिँदैन । 

नेपाली बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा आदिवासी जनजाति साहित्य र सौन्दर्यशास्त्र निकै नवीन विषय हो । साङ्गठनिक अभियान, आन्दोलन, विभिन्न सभासमारोह आदि गतिविधिको बढोत्तरीसँगै आदिवासी जनजातिका मुद्दाले मीडियामा निश्चित स्थान पाएको छ । बजार केन्द्रित खुराकले केही हदसम्म भए पनि आदिवासी जनजातिको पहिचान सौन्दर्यलाई विश्वबजारसम्म फैलाउन भूमिका खेलेको छ । सिर्जनशील अराजकता जस्ता आन्दोलनले पहिचान सौन्दर्यलाई प्रश्चय दिएको छ । पछिल्लो समय पहिचान आन्दोलनको गति मन्द देखिए पनि आन्दोलन रोकिएको देखिन्न । उत्पीडित समुदायका युवा जमातको हस्तक्षेप बढ्दै गर्दा साहित्यमा आदिवासी जनजाति पहिचान सौन्दर्यले बढी स्थान ओगटदै छ । एकल मानकसँग टकराउँदै सिनेमामा वैकल्पिक धार स्थापित हुँदै छ ।  नेपाली कलासाहित्यको सौन्दर्य फेरिँदै गरेको दृश्यले आदिवासी जनजाति अभियन्ता आशावादी देखिन्छन् । आदिवासी जनजाति लेखक महासंघ गठन तथा सञ्जाल निर्माण यसैको परिणाम हुनुपर्छ । यस महासंघले पहिचान सौन्दर्यबोध कसरी गर्छ, त्यसैले यस आन्दोलनको भविश्य निर्धारण गर्नेछ । 

विश्वआदिवासीको कला सौन्दर्यबोध र नेपाली आदिवासी पहिचान सौन्दर्यबीच निकटतम सम्बन्ध देखिन्छ । अन्ततः आदिवासी जनजाति दर्शनले पश्चिमा पुँजीवादी व्यक्तिवादी मान्यतालाई सहर्ष स्वीकार्दैन । आदिवासी जनजाति पहिचानका स्वरुप र सार सधैं समाजसँग जोडिएको हुन्छ । आदिवासी कला, साहित्य, संगीत तथा प्रस्तुति जन्य गतिविधि प्रत्येक्ष रुपमा समाज वा समुदाय केन्द्रित हुन्छ । आदिवासी जनजातिले कलासाहित्य प्रस्तुतिलाई पवित्र सामाजिक कर्मका रुपमा स्वीकार गर्छन् र आफ्ना हरेक कलात्मक प्रस्तुतिलाई अध्यात्म, आत्मा, आस्था, समुदायिक उपयोगितासँग जोड्दछन् । उनीहरुका लागि परम्परागत संस्कार–संस्कृतिसँग जोडिएका कलाप्रदर्शनी विक्रीका लागि होइन, निश्चित पर्वसंस्कार सम्पन्न गर्ने प्रयोजनका लागि मात्रै हो । उक्त कलाकृति प्रस्तुति विक्रीका लागि पनि प्रयोग गर्ने गरिन्छ । यद्यपि त्यस क्रममा भिन्नता पक्कै हुन्छ । उदाहरणका लागि एउटा झाँक्री वा जीवित देवताले प्रस्तुति दिँदा कुनै समुदाय वा त्यसको सदस्यको स्वास्थ्य लाभका लागि हुन्छ । पर्यटकका लागि प्रस्तुति दिँदा प्रयोजन र अभिप्राय पूरै अर्कै हुन्छ, भलै प्रस्तुति उस्तै देखिएला । पर्यटकका लागि प्रस्तुति दिने व्यक्ति दैवि शक्तिले सुसज्जित देव मानव नभई ‘कमिसन’ कलाकार मात्रै हुन् । जसको दैवी सत्व नै समाप्त हुन्छ । पहिले संस्कारका लागि मात्रै निश्चित अवधिका लागि कला प्रस्तुतिकरण हुन्थ्यो भने अब स्थायी रुपमा उक्त कला रहने भयो । आर्थिक वस्तुका रुपमा यो विक्री हुने भयो । आदिवासी कलाको मेटामोर्फोसिस यसरी हुँदैछ । एउटा प्रस्तुति आर्थिक, धार्मिक तथा राजनीतिक शक्तिको रुपमा उभिएको हुन्छ । आदिवासी जनजातिका कतिपय सूक्ष्म महत्वका कलासौन्दर्यलाई कसरी बचाइ राख्ने भन्ने चुनौति उत्तिकै छ । 

अन्ततः यूरो–अमेरिकी मोडलको आधुनिक कलासौन्दर्यशास्त्र विश्वव्यापी मानकका रुपमा स्थापित भइसकेको छ । आदिवासी अमेरिकी कवि तथा मानवशास्त्री वेन्डी रोजले तर्क गरेझैं, ‘कला तथा साहित्यलाई हेर्ने विश्वव्यापी सिद्धान्त यूरो–अमेरिकी भूमिबाट आएको हो र यो ‘यूरोसेन्ट्रिजम’को सबैभन्दा ठूलो बासस्थल विश्वविद्यालयहरु नै हुन् ।’  नेपाली विश्वविद्यालयहरु ‘यूरोसेन्ट्रिजम’को नराम्ररी सिकार भइसकेका छन् । नेपाली विश्वविद्यालयमा नेपाली भूगोल भेट्न मुश्किल छ । रोजले औल्याएझैं माथिल्ला स्तरका भनिने विश्व सिद्धान्त (हाई थ्योरी) सर्वव्यापी मान्यताका रुपमा बौद्धिक जगतमा सवत्र स्थापित भइदिँदा आदिवासी जनजातिका सौन्दर्यशास्त्रलाई आदि इत्यादिमै सीमित गरिदन्छ । उनीहरुको महत्वपूर्ण सौन्दर्यले विश्वस्तरीयता प्राप्त गर्नै सक्दैन । नेपालका आदिवासी जनजाति पहिचान सौन्दर्यलाई बचाउने, सजाउने र विश्वव्यापी बनाउने पहिलो जिम्मेवारी ‘यूरोसेन्ट्रिक’ नेपाली विश्वविद्यालयहरुकै हो । प्रश्न उब्जन्छ, यो सौन्दर्यको स्वरुप हिजो कस्तो थियो, अहिले कस्तो छ ? हैकमहरुले थिचेर किचेर यी कुन अवस्थामा बचेका छन् ? यिनको विश्वजगतसम्म फैलन्े आधार के हुन् ? यूरो–अमेरिकी मानकबाहिर मात्रै नभई आफ्नै देशभित्र बहिस्कृत भएर बाचेका यी कलासौन्दर्यलाई विश्वको ‘विशाल चित्र’भित्र कसरी कोर्ने ? यिनीभित्र बौद्धिक प्राज्ञिक स्तरीयता कसरी भर्ने ? यसको स्वरुप, अध्ययनवीधि, विषयवस्तु, सौद्धान्तिकरण, सम्बन्धन, गुणस्तरीयता कसरी वृद्धि गर्ने ? आफ्नै शासकले ‘तल्लो’, ‘पिछडिएका’, ‘असभ्य’, ‘पाखे’, ‘अपूर्ण‘ लेवल लगाएको कलासौन्दर्य विश्वव्यापी ‘विशाल तस्वीर’माझ कस्तो देखिएला ? कतिपयका मनमा यस्ता प्रश्न पनि उब्जिन सक्ला । हाम्रा विश्वविद्यालयले उत्सवका साथ बोकेको पश्चिमी यूरो–अमेरिकी फर्मामा नेपाली आदिवासी जनजाति कलासौन्दर्य तदाकार नै हुन्न । जेन ब्लकरले भनेझैं हामी ‘इन्टिलेक्चुअल इम्पेरिअलिजम’कै पृष्ठपोषण गर्दैछौं । हामी बौद्धिक साम्राज्यभित्र कैद छौं । हामी हाम्रा कुरा अरुलाई उनीहरुकै चाहना अनुसार भन्न दिइरहेका छौं । असामान्य यूरो–अमेरिकी वैचारिकीलाई हामी अति सामान्य र अपरिहार्य विचारका रुपमा सहवरण गरिदिन्छौं ।  रोजले सही भनेका हुन्, उनीहरुले संस्थागत संरचनाबाटै विचारको असामान्य राजनीतिलाई सामान्य ढङ्गले विश्वभर बढोत्तरी गराउन सफल भएका छन् ।  

यसर्थ, अबको आन्दोलन भनेको वैकल्पिक (समानान्तर) सौन्दर्यशास्त्र निर्माणमै केन्द्रित गरिनु पर्छ । आदिवासी जनजातिको दर्शनशास्त्र समानान्तर (होराइजेन्टल) सौन्दर्यमा आधारित छ । तहगत वर्णव्यवस्था वा व्यक्तिवादी औपनिवेशिक मानकभित्र आदिवासी जनजाति पहिचान सौन्दर्यलाई ‘स्पेस’ छैन । कतै कसैले ‘स्पेस’ पाए पनि त्यहाँ ‘एजेन्सी’ पाइन्न, सहवरण नगर्दासम्म । ससम्मान स्वाीधनताका साथ फैलन सक्दैन । आदिवासी जनजाति स्वतन्त्र समुदाय हुन् । उन्मुक्त कलात्मक तान्द्रामा बढी रमाउन मनपराउँछन्, आदिवासी जनजाति । इम्यानुयल कान्टले सौन्दर्यशास्त्रलाई एउटा उच्च स्पेसमा तर्क, नैतिकता, परलौकिक भन्दा पर राखिदियो । कलालाई विशिष्ट वस्तुका रुपमा हेर्ने अवधारणा आयो । जसले कलासौन्दर्यलाई आध्यात्म, नैतिकता, सामाजिक जीवनसँग जोडिएको वस्तुका रुपमा अध्ययन गर्ने आधार बन्यो । जुन अधिकांश आदिवासी जनजाति सौन्दर्यसँग मेल खान्छ । आज पनि कलासौन्दर्यशास्त्र धर्मभन्दा पर छैन । अन्नाइसौं शताब्दिको मध्यतिरसम्म पश्चिमा जगतमा कला धर्मसँगै जोडिएर आएको थियो । यदि यही सत्य हो भने आदिवासीको कलासौन्दर्य आध्यात्मिक शक्तिसँग प्राचीनकालदेखि नै जोडिएर रहेको देखिन्छ । भलै पछिल्लो समय कलासौन्दर्य आधात्मिक शक्तिभन्दा बढी राजनीति र समाजसँग जोडिने गर्छ । अहिले विरलै विकसित पश्चिमा संसारमा विचारक छन् जो कला सौन्दर्यलाई धर्मसँग जोड्न रुचाउछन्, अपवाद बाहेक । जवकि अझ पनि आदिवासी जनजाति कलासौन्दर्यमा प्रस्तुति दर्शक–प्रस्तोतालाई तान्द्रामा पु¥याउनेसम्मको ‘मेटामोर्फोसिस–कथार्सिस’ गुण जीवित छन् । 

विश्वव्यापीकरण खतरनाक छ किनकि यसले सौन्दर्यको पनि समग्रता खोज्छ जसले विशिष्टतम स्थानीय सौन्दर्यलाई सिध्याइदिन्छ । यसर्थ, हामीले विशिष्ट अभिव्यक्तिभित्र विश्वव्यापी सौन्दर्यबोधको कला हासिल गर्नु आवश्यक छ । आदिवासी जनजातिभित्र जीवित विविध बहुल कला सौन्दर्यलाई पश्चिमी विश्लेषकहरुले अनेक हिसाबले अध्ययन विश्लेषण गर्ने क्रम जारी नै छ । यसर्थ आदिवासी कला सौन्दर्यमाथि स्टेरियोटाइपिङ (हे्यभाव) हावी हुने नै भयो । टोडले लेखेझैं, ‘आदिवासी’ कलासौन्दर्य भनेको अन्यको आँखामा विझाउने अवस्था रहदासम्म यो आदिवासीको कला सौन्दर्य नै बढी हुनेछ । आम सम्भ्रान्तका लागि आदिवासी कलासौन्दर्यले अस्तित्व ग्रहण नगर्दासम्म यो अदृश्यझैं देखिन सक्छ । जसले यसभित्र निहीत आध्यात्मिक सौन्दर्य तथा नैतिक दर्शनलाई बोध गर्न सक्दैन । विकल्प सङ्घर्ष, सङ्घर्ष र सङ्घर्ष भन्छन्, नेपाली अभियन्ताहरु । पछिल्लो समय आन्दोलनको गति मन्द, शक्ति शिथिल र मनोविज्ञानमा निराशा छाएको छ । अब आन्दोलनको अनेक स्वरुप अपनाउनुपर्छ  सडक आन्दोलनले मात्रै पार लाग्दैन भन्ने बोध पनि भइसकेको छ । 

यसको मतलव अब पहिचान सौन्दर्य बढाउन समर्पित पाठ्यक्रमहरु बनाउने हो । नयाँ अनुहार उभ्याएर आदिवासी जनजातिको सङ्ख्यात्मक प्रतिनिधित्वले मात्रै पुगेन । प्राज्ञिक बहसको सून्यताले पहिचानको विशिष्टता विलाउन सक्छ । राजनीतिक दलभित्र पहिचान सौन्दर्यको बहस नहुनुमा विश्वविद्यालय पनि दोषी पक्कै छ । कम्युनिस्ट दलभित्रै प्रशिक्षण नचलेको ८ वर्ष भइसक्यो । दलहरुको स्कूल विभागहरु चलायमान बन्न सकेन । यसका लागि विश्वविद्यालय भित्र हुने बहसको पनि ठूलो योगदान हुन्छ । पहिचान सौन्दर्यको प्रचुरतालाई हरेक तहतप्कासम्म फैलाएपछि मात्रै यसले सम्मान प्राप्त गर्ने छ । हजारौं वर्ष अघिदेखि जीवित दर्शन र सौन्दर्य किन यति धेरै पराधीन अवस्थामा रहिरह्यो, प्रश्न त गरौं । बहस त गरौं, आदिवासी जनजाति पहिचान सौन्दर्यभित्र कति कुरा वैज्ञानिक, भौतिकवादी छन् ? कति कुरा रुढीवादी छन्, प्राज्ञिक प्रश्नहरु बोकर व्यापक बहस गरौं, विश्वविद्यालयभित्र र बाहिर । को कति स्वाधीन, सभ्य र सुन्दर देखिहालिन्छ । को कति सच्चिने, ऐतिहासिकताले स्पष्ट पारिहाल्छ । भ्रष्टीकरण कहाँकहाँ भयो, स्पष्ट भइहाल्छ । 

सामूहिक हस्तक्षेपको सौन्दर्य
अन्ततः पहिचानबोध विना सङ्घर्ष सम्भव हुन्न ।  नेपालमा आदिवासी जनजाति सौन्दर्य नेपाली सभ्यताकै उपज हो । पहिचान आन्दोलन पनि इतिहासकै उपज हो । नेपालमा वर्ण नै वर्ग निर्माणको आधार बन्यो । एकलवादी पहिचानको पेलानमा थिलथिलो बन्न बाध्य आदिवासी जनजातिहरु पहिचानका आधारमा आन्दोलित हुन बाध्य भएका हुन् । पहिचान आन्दोलन उत्पीडित समुदायका लागि आफ्नो अधिकार स्थापित गर्ने उचित र उपयुक्त अस्त्र बनेको छ ।  पहिचान आन्दोलन रणनीतिक अपरिहार्यतामा आधारित छ । जसले जस्तो आक्षेप वा लाञ्छना लगाओस, आफ्नो अस्तित्व रक्षार्थ पहिचान आन्दोलनलाई आत्मसात गर्नुको विकल्प देख्दैनन्, अभियन्ताहरु । स्पिभाकले भनेझैं, वर्चश्वशालीहरु शब्दप्रयोग र शब्दप्रहारबाट पनि अक्षम्य अपराध गरिरहन्छन् । उनीहरु ज्ञानमार्फत पनि उत्पीडित वर्गमाथि हिंसा गरिरहन्छन् किनकि, ज्ञान निर्माण र सूचना प्रवाहका हरेक अङ्गहरु पनि कुलिनकै कब्जामा छ । यस विरुद्ध लड्ने अत्र पहिचान आन्दोलन नै हो । अन्तोनियो ग्राम्सीले औंल्याएझैं आवश्यकता छ, सामूहिक बौद्धिक हस्तक्षेपको ।

 किनकि देखिने सैन्य हैकमभन्दा हजारौं गुना हिंस्रक हैकम अदृश्य सहमतीय सहवरणमार्फत आदिवासी जनजातिको सौन्दर्यलाई सिध्याइरहेको छ । दर्शनशास्त्र, अर्थशास्त्र र राजनीति तीन वटै तहका सौन्दर्यमा नेपालका आदिवासी जनजाति धनी छन् । सबैसँग भाषा, संस्कार र संस्कृति हुनुले उनीहरु निरीह कविला समूह होइनन् । इतिहासदेखि सौन्दर्यशास्त्रले सुसज्जित सभ्य वर्ग समुदाय हुन् । यिनका विभिन्न सभ्यताहरु अनेक अडचन झेलेर पनि आजसम्म बाँचेर, बचाएर यहाँसम्म ल्याएको कलासौन्दर्यमा वैज्ञानिक भौतिकवादी विचारधारा थप्दै समयसान्दर्भिक बनाउन सकिने आधारहरु छन् उनीहरुको जनजीवन प्रथापरम्परामा पुरुष र महिलाबीच सम्बन्ध समानता उन्मुख छ ।  जहाँ नारी स्वतन्त्रतालाई प्रश्चय दिइएको देखिन्छ । महिलालाई बाबुआमाले विवाहपछि पनि सुरक्षाको प्रत्याभूति दिन्छ । उनीहरुको जीवनशैली प्रकृतिको लयसँग लयवद्ध छ । कुनै स्थानविशेषसँग जोडिएका तमाम विषयमा विज्ञता हासिल गरी सामुदायिक हितमा लगानी गर्ने स्वभाव सघन भएकाले चरम व्यक्तिवादी स्वार्थभन्दा उनीहरु पर हुन्छन् । रङ्ग, जाति, नश्ल, लिङ्ग लगायत विभेदलाई उनीहरु आत्मसात गर्दैनन्, सहवरणको प्रभाव नपर्दासम्म । आदरका शब्दमै बढी उचनीच प्रयोग नभएकाले तहगत संरचना सघन रुपमा पाइन्न । स्वभावमा सीधापन व्यवहारमा सादापन उनीहरु भाग्यवादी भयबाट मुक्त छन् । यी पहिचान सौन्दर्यलाई आदिवासी जनजाति लेखक महासंघले सघन रुपमा आत्मसात गर्दै सामूहिक बौद्धिक आन्दोलनलाई उचाई प्रदान गरुन्, हार्दिक शुभकामना । राजनैतिक आन्दोलन जत्तिकै महत्वको बौद्धिक दूरदर्शिता देखाउने सङ्गीन समय यही हो । पहिचान सौन्दर्य जत्तिकै सुन्दर हुन्छ सामूहिक बौद्धिक हस्तक्षेप । 

(आदिवासी जनजाती लेखक तथा साहित्यकार महासंघको भेलामा प्रस्तुत कार्यपत्र)