हलिउड अभिनेता विल स्मिथलाई मोसन पिक्चर्स आर्ट एण्ड साइन्स एकेडेमीले १० वर्षको लागि निलम्बन गरेको छ। ९४ औँ ओस्कार अवार्ड वितरण कार्यक्रममा क्रिस रकमाथि हात उठाएका कारण स्मिथलाई निलम्बन गरिएको हो।
दुई हप्ताअघि अमेरिकाको लस एन्जलसस्थित डल्वि थिएटरमा आयोजित विजेता घोषणा तथा अवार्ड वितरण कार्यक्रममा अभिनेता स्मिथले कार्यक्रमका होस्ट कमेडियन क्रिस रकमाथि हात उठाएका थिए। रकले स्मिथ पत्नी जाडा पिंकेटको छोटो कपालमाथि मजाक बनाएपछि स्मिथले स्टेजमै गएर हात छोडेका थिए।
शुक्रबार एकेडेमीले औपचारिक पत्र सार्वजनिक गर्दै स्मिथलाई निलम्बन गरेको कुरा जानकारी गराएको हो। उक्त पत्रमा लेखिएको छ, 'हाम्रो समुदायका व्यक्तिहरूको उत्सवको रूपमा रहेको यस अवार्ड कार्यक्रममा स्मिथले स्टेजमा गरेको व्यवहार अस्विकार्य र हानिकारक थियो। कार्यक्रम चलिरहेकै बेला उक्त घटनालाई लिएर हामीले राम्रोसँग सम्बोधन गरेनौँ, यसका लागि क्षमाप्रार्थी छौँ। यो एकेडेमी परिवारका लागि हाम्रा पाहुनाहरू, दर्शकहरू र संसारभरीका लागि एउटा उदाहरण सेट गर्ने अवसर थियो तर हामी चुक्यौँ।'
उक्त घटनापछि स्मिथले आफैँ राजीनामा पत्र दिएका थिए। उक्त राजीनामा पत्र स्वीकार गर्नुका साथै उनलाई ८ अप्रिलदेखि लागू हुने गरी १० वर्षको लागि निलम्बन गरेको सार्वजनिक पत्रमा जनाइएको छ।
९४ औँ ओस्कारमा उत्कृष्ट अभिनेताको रूपमा मनोनयनमा परेका स्मिथ पत्नि पिंकेटसँगै कार्यक्रममा उपस्थित भएका थिए। एलोपेसिया नामक बिमारका कारण कपाल झर्ने समस्याबाट गुज्रिरहेकी पिंकेटको मजाक बनाएका कारण स्मिथले रकमाथी हात उठाएका थिए। वर्षको उत्कृष्ट अभिनेताको अवार्ड जितेपछि मञ्चमा उक्लिएका स्मिथले त्यतिवेलै आफ्नो गल्ती स्विकारेका थिए।