नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७९’आगामी वैशाख २ गते सुरु हुने भएको छ ।
प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानले मंगलबार पत्रकारसम्मेलन गरी जानकारी दिएको छ । प्रदर्शनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।
प्रदर्शनीका लागि ३६५ कलाकारका ४२६ कलाकृति दर्ता भएकामा ३४१ कलाकारका ३८९ कलाकृति प्रदर्शनीका लागि छनोट भएका प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए। प्रदर्शनी भने एक महिनासम्म चल्ने छ ।
प्रतिष्ठानले यसपटक अरनिको राष्ट्रिय ललितकला प्रज्ञा–सम्मानबाट कलाकार काठमाडौँका कृष्ण मानन्धर र भक्तपुरका सूर्यबहादुर चित्रकारलाई सम्मानित गरिने भएको छ । उक्त सम्मानको राशि रु एक(क लाखको रहेको छ ।
ललितकला लेखन पुरस्कार पत्रकार देवेन्द्र थुम्केलीलाई र ललितकला पत्रकारिता पुरस्कार सुशीला तामाङलाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि रु २५ हजार रहेको छ ।
राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९ मा राखिएका कलाकृतिमध्ये विभिन्न विधाबाट राष्ट्रिय ललितकला पुरस्कार, ललितकला विशेष पुरस्कार एवं प्रादेशिक पुरस्कार ३१ कलाकारलाई प्रदान गरिने जनाइएको छ । ती पुरस्कारको राशि क्रमशः रु ६० हजार र रु २५-२५ हजारको रहेको छ ।