बैशाख ५, २०७९ सोमबार

गायक प्रकाश सपूतको डेब्यू चलचित्र हो, ‘परदेशी २’ । उनले सानो उमेरको हुँदादेखि नै चलचित्रमा अभिनय गर्ने सपना बुनेका थिए ।

गीतसंगीत क्षेत्रमा आउनुअघि उनी चलचित्रमा हिरो बन्ने सपना देख्थे । तर, समयसँगै प्रकाश पहिले गीतसंगीत क्षेत्रमा सक्रियसँगै स्थापित भए । सांगीतिक क्षेत्रमा नाम कमाएको केही वर्षपछि उनी ‘परदेशी २’मा मुख्य अभिनेताको रुपमा अनुबन्ध भए । 

यो चलचित्रको छायाँकन शुरू हुँदै गर्दा उनले सायदै सोचेका थिए, आफ्नो पहिलो चलचित्र हेर्न यति लामो समय कुर्नुपर्छ भनेर । 

२०७७ सालको दशैंमा प्रदर्शन गर्ने योजनाका साथ २०७६ फागुनमा यो चलचित्रको छायाँकन शुरू गरिएको थियो । 

तर, कोरोनाका कारण चलचित्रको छायाँकन बीचमै रोकिन पुग्यो । कोरोना संक्रमण केही मत्थर भएपछि २०७७ को दशैंपछि बल्ल चलचित्रको छायाँकन पूरा भयो । 

छायाँकन पूरा भएपछि निर्माण पक्षले २०७८ को दशैँमा चलचित्र प्रदर्शन गर्ने योजना बनायो । तर, गत वर्ष पनि चलचित्र प्रदर्शनमा आउन पाएन । 

यतिबेला निर्माण पक्षले आगामी दशैंका लागि चलचित्रको प्रदर्शन मिति घोषणा गरिसकेको छ । अब कुनै आपत आइलागेन भने आगामी दशैंमा चलचित्र प्रदर्शनमा आउनेछ । 

सांगीतिक क्षेत्रमा सबैको वाहवाही पाएका प्रकाशको चलचित्रको काम भने दर्शकले हेर्न बाँकी छ । यद्यपि उनले ‘परदेशी २’मा राम्रो काम गरेको चलचित्रका निर्देशक नारायण रायमाझी, अभिनेत्री केकी अधिकारी लगायतले बताउँदै आएका छन् । 

एउटा उखान छ( प्रतीक्षाको फल मीठो हुन्छ । आशा गरौं, प्रकाशले पनि चलचित्रका लागि यतिका समय गरेको प्रतीक्षाको फल मीठै पाउनेछन् ।