आज हुने मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भइसकेको विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिएका छन् ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दीक्षान्त समारोहको अध्यक्षता गर्नेछन्। उनी भर्चुअल रूपमा उपस्थित हुनेछन् ।
समारोहको प्रमुख अतिथि भने भारतका कैलाश सत्यार्थी रहने छन् । सत्यार्थी सन् २०१४ को नोवेल शान्ति पुरस्कार विजेता हुन्। उनी भारतको पहिलो नोवेल पुरस्कार पाउन व्यक्ति पनि हुन्।
दीक्षान्त समारोहमा विभिन्न संकायका स्नातकोत्तर तहका ९ जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिने छ। जसमा मानविकी र सामाजिक शास्त्र संकायका ३, व्यवस्थापन संकायका ३, शिक्षा शास्त्र संकायका ३ जना छन्।
यस्तै स्नातक तहका ४० जना विद्यार्थीलाई उपकुलपति पदक प्रदान गर्न लागिएको छ। मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय र इञ्जिनियरिङ संकायमा स्नातक उत्तिर्ण ४–४ जनालाई उपकुलपति पदक प्रदान गर्न लागिएको छ ।
समारोहका अवसरमा व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तीर्ण २ जना र स्नातक तह उत्तिर्ण ३ जनालाई सुर्खेत उद्योग वाणिज्य संघ स्वर्ण पदक प्रदान गरिनेछ।
यस्तै विश्वविद्यालयमा अध्ययन गरेका ५ सय १९ जनालाई समारोहको अवसरमा दीक्षित गर्न लागिएको छ। मानविकी तथा समाजशास्त्र संकायका ४४, व्यवस्थापन संकायका ५३, शिक्षा शास्त्र संकायका १९, विज्ञान तथा प्रविधि संकायका १५, इञ्जिनियरिङ संकायका १४५ जना स्नातक उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरिने छ।
स्नातकोत्तरतर्फ मानविकी र समाजशास्त्र संकायका १०८, व्यवस्थापन संकायका ६८ र शिक्षा शास्त्र संकायका ६६ जना दीक्षित हुनेछन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट पहिलो विद्यावारिधी गर्ने पूर्णमान श्रेष्ठ समारोहका क्रममा दीक्षित हुँदै छन्। विश्वविद्यालयको पहिलो विद्यावारिधि उपाधि पाएका श्रेष्ठले व्यवस्थापन संकायमा आफ्नो शोधपत्र तयार पारेका थिए।
वीरेन्द्रनगर–८ कुइनेपानीमा नवनिर्मित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा समारोह हुनेछ ।