काठमाडौँ — मिस नेपाल २०२२ का लागि आवेदन खुला गरिएको द हिडन ट्रेजरले जनाएको छ ।
मिस नेपाल प्रतियोगितामा सहभागीले सोमबारदेखि वैशाख ३१ सम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन् । प्रतियोगितामा ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका देशभरका युवतीहरू सहभागी हुन पाउनेछन् । यस वर्ष ‘मिस नेपाल वर्ल्ड,’ ‘मिस नेपाल अर्थ’ र ‘मिस नेपाल इन्टरनेसनल’ गरी तीन मात्र मुख्य टाइटल रहनेछन् ।
अडिसन काठमाडौंलगायत वीरगन्ज, धरान, धनगढी, नेपालगन्ज, पोखरा र सुर्खेतमा हुनेछ । आयोजकका अनुसार काठमाडौंमा भने वैशाख ९ देखि २७ सम्म अडिसन हुनेछ । अन्य सहरमा हुने अडिसनका लागि निश्चित मिति र स्थान छिट्टै तय गरिने राजकर्णिकारले बताए । हिडन ट्रेजरले मिस नेपाल २०२२ को फाइनल भने असार ४ मा ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गर्ने भएको छ ।