नयाँ वर्षदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ४’ फ्लप भएको छ । युवा कलाकार अनमोल केसी र सुहाना थापा अभिनित उक्त चलचित्र फ्लप भएको भन्ने चलचित्र जगतमा चर्चा चलेको छ ।
सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रको निर्देशन झरना थापाले गरेकी हुन् । उक्त चलचित्रमा थापा दम्पत्तिकी छोरी सुहाना नै मुख्य भूमिकामा छिन् । उता, भुवन केसीका छोरा अनमोल सुहानाको जोडीका रूपमा चलचित्रमा मुख्य भूमिकामा छन् । बाहिर चलचित्रले राम्रो व्यापार गरेको भन्ने चर्चा चले पनि यसको व्यापार भने निराशजनक रहेको चलचित्रकर्मीहरूको दाबी छ ।
दर्शकहरूको रोजाइमा यसपटक पनि भारतीय चलचित्र नै परेको छ। बैशाख १ गतेबाट नै रिलिज भएको केजीएफ टु ले भने नेपालमा आक्रामक व्यापार गरेको पाइएको छ । भारतीय चलचित्रसँग भिड्ने उद्घोष गरेर नै थापा दम्पत्तिले आफ्नो चलचित्रको रिलिज डेट नसारेको चर्चा छ । नेपाली सिने जगतका हस्तीहरूले पनि ए मेरो हजुर ४ हेरिदिन सामाजिक सञ्जालमार्फत आग्रह गरेका थिए । तर, हलमा भने दर्शकहरूको नगन्य मात्रामा उपस्थिति रहेको बताइएको छ ।