कविता - बूढो मन
होइन
होइन
म दु:खी भएको होइन !
मलाई कसैले दुखाएको पनि होइन
मात्रै छाती चस्किएझैँ हुन्छ बेलाबेलामा
श्वास रोकिएझैँ हुन्छ बेलाबेलामा !
सन्तानहरू ठूला भएको देख्दा
'बा' को मन सानो हुँदोरहेछ साइँला
सानो मन स-साना कुराहरूमा दुख्ने पनि रहेछ !
तँलाई याद छ, साइँला ?
'ठूले' ठूलो हुने वेलासम्म पनि बोल्न सकेन भनेर
कम्ता दुखी थिए म
तर हेर न
हिजो 'ठूले' ले ठूलो स्वरमा बोल्यो भनेरै मेरो मन दुख्यो
बूढो मन त
कसैले बोलिदिँदा पनि दुख्ने रहेछ !
अहो !
कस्तो चकचके थियो माइलो
यो चाहिन्छ
त्यो पनि चाहिन्छ भनेर सताउँथ्यो
मलाई कमिजको गोजी उल्टाएर
के छ, देखाउनु भन्थ्यो !
आमालाई
पटुकीको गाँठो फुकाएर कति छ दिनु भन्थ्यो !
कसैलाई नभनेरै हेर्न भ्याउथ्यो
शिरानीका भुइँहरू
डसनाका खोलहरू !
तर आज
उसलाई मेरो कमिजको गोजीमा के छ भन्ने कुराको वास्ता छैन
उसलाई मेरो कमिजमा गोजी छ/ छैन भन्ने कुराको पनि वास्ता छैन
हिजो दुनियाँभरका कुरा गरेर हैरान पार्छ भनेर कराउँथे
आज मसँग कुरै गर्दैन भनेर चित्त दुख्छ !
बूढो मन त
कम बोलिदिँदा पनि दुख्दो रहेछ !
'ठूले' ठूलो भयो
ठूलो स्वरमा बोल्छ
'माइलो' ठूलो भयो
बोल्नु पर्ने जति पनि बोलिदिँदैन
मलाई चिन्ता लाग्दै छ साइँला
अब त छोरी पनि ठूली हुँदैछे
होइन
होइन मैले 'सानी' ली भइ भनेर चित्त दुखाएको होइन
पहिलो पटक सानीलाई काखमा लिँदा
छोरी कहिले काखभरिकी होली सोच्थेँ
उसलाई हात समाएर उभिन सिकाउँदा
कहिले आफैँ दौडन सक्ली जस्तो लाग्थ्यो
आजकल
दौडाएर आफ्नो भाग्य कुन आँगनमा बिसाउँछे होला भन्ने सुर्ताले पिरोल्छ !
काखमा नबस भन्दा - मन दुखाउँथी
छेउमा नबस भन्दा - रोइदिन्थी
'अब घरमै पनि बस्नु हुन्न' भनेको दिन
कसरी सम्हाल्छे होला आफूलाई !
यही सोचेर मलाई सम्हालिन गाह्रो हुन्छ !
बूढो मनलाई वियोगले धेरै तर्साउँदो रहेछ
मलाई आफ्नो संसारै भन्ने 'जहान' आज संसारमै छैन
सधैँ कराउथी, मैले भनेको मानिन भनेर!
धेरै फकाउथी, मैले भनेको मानिदेओस भनेर!
कहिले यो भएन भनेर सुनाउथी
कहिले यस्तो हुनुपर्छ भनेर सिकाउथी
घर छाडेर जाने बेलामा सधैँ
'बच्चाहरूको ख्याल राख्नू है'भन्थी
संसार छाडेर जाने बेलामा
बच्चाहरूलाई 'बा को ख्याल राखे है' भनेर गइ!
बूढी तँ पिर नगर्नू!
"तैँले "बा' को ख्याल राख्नू" भनेको
ख्याल छ हाम्रा सन्तानहरूलाई
त्यसैले,
ठूलेले ठूलो स्वरमा सम्झाउँछ मलाई
माइलाले अब मलाई सम्झाउनु पर्दैन भन्छ
सानीलाई पनि अब स- साना कुराहरू सिकाउनु पर्दैन।
तर बूढो मनलाई त सजिलो ले पनि बिझाउँदो रहेछ।
बाको काख बच्चाहरूका लागि मात्रै रहेछ
बाको काँध बच्चाहरूका लागि मात्रै रहेछ
बच्चाहरू 'बच्चा' रहुन्जेल मात्रै 'बा' बच्चाहरूको हुँदोरहेछ
हिजो हाम्रो हो भनेर चिनाएको गैरी खेत
आज
जेठो अनि माइलाको भएको छ
काल्लो जेठोले लाउँछ
आली माइलाको भागमा छ
म पनि आज जेठो र माइलाको बा भएको छु
चप्पल च्यातिँदा जेठोको हुन्छु
टोपी फाट्दा माइलाको हुन्छु
जमिन बाँडिएर सबैको भागमा परेको छ
जमिन परेकाहरूको भागमा म पनि परेको छु
सबैसँग घर छ सबैको घरमा म छु
तर बूढो मन त बाँडिदा पनि दुख्दो रहेछ
बाँड्नेहरूलाई बाँडिन गाह्रो हुने रहेछ!
छाला चाउरिँदै जाँदा मन कोमल हुँदै जाने रहेछ !
बचनले पनि दु:खाइ दिने!
हेराइले पनि रुवाइदिने!
चुँडिनै लागेका चप्पल
खिइँदै गएका गोडा
च्यात्तिनै लागेको टोपी
खुइलिँदै गएको तालु
टुक्रिँदै गएका सम्बन्धहरू
पातलिँदै गएका दौँतरीहरूले
जब मलाई 'म डुब्नै लागेको घाम हुँ' भनेर सम्झाउछन्
सोच्छु
घाम डुब्नु भनेको घरमा अँध्यारो हुनु हो।
फेरि सोच्छु
घाम डुब्नु भनेको घरकालाई आराम हुनु पनि हो
बुढो मन
छुटेका कुराहरू सम्झेर रुँदो रहेछ
बूढो मन
छुट्ने कुराहरू सम्झेर पनि रुँदो रहेछ
हेर न साइँला
मान्छे आउँने बेलामा पनि रुन्छ
जाने बेलामा त मान्छे झनै रोइरहने रहेछ !
तर
म रोएको छैन
म ठीक छु
मात्रै, छाती चस्किएको झैँ हुन्छ बेलाबेलामा
श्वास रोकिएको झैँ हुन्छ बेलाबेलामा
सबै मासिएको झैँ हुन्छ बेलाबेलामा
आफैँ सकिएको झैँ हुन्छ बेलाबेलामा
बेलाबेलामा बूढो मनलाई यस्तै विमारले सताउने रहेछ !
साच्चै !
म ठीक छु ।
✍️ विद्याश्री सिंह, जाजरकोट